वासिङ्टन : अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीलाई मदिराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ।
नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’काअनुसार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उनलाई पक्राउ गरिएको थियो। उनको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उनीविरूद्ध लगाइएको छ।
रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा आइतबार बिहानै रिहा गरिएको अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ। आफू पूर्वी क्षेत्रमा रहेका समयमा भएको उक्त घटनालाई निजी भन्दै सभामुख पेलोसीले यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताएकी छन्।
सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसीले सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेकी थिए भने उनीहरूका पाँच सन्तान रहेका छन्। एएनआई
Discussion about this post