विराटनगर । नरिबलको रुखबाट लडेर र लोहन्द्रा खोलामा डुबेर मोरङका भिन्दाभिन्दै स्थानमा शुक्रबार साँझ दुई जनाको मृत्यु भएको छ। लेटाङ नगरपालिकामा रुखबाट लडेर र कटहरी गाउँपालिकामा खोलामा डुबेर मृत्यु भएका दुवै जना पुरुष हुन्। लेटाङ–३ मा नरिबल झार्न रुखमा चढेका बेला लडेर स्थानीय २३ वर्षीय अशोक राईको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार लेटाङ–५ मा रहेको रुखमा नरिबल झार्नलाई चढेका उनी लडेर साँझ ६ः३० बजेतिर गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ साँझ ७:२५ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेको श्रेष्ठले बताए।
त्यस्तै कटहरी–७ हुरहुरियास्थित लोहन्द्रा खोलामा डुबेर स्थानीय ३९ वर्षीय जोगलाल सरदारको मृत्यु भएको छ। डीएसपी श्रेष्ठका अनुसार बालुवा निकाल्न खोलामा पसेका सरदारलाई डुबेर बेहोस भएको अवस्थामा साँझ ५ः३० बजेतिर फेला पारिएको थियो। बेहोस अवस्थामा फेला पारेर आफन्तले घरमा ल्याएको केही बेरमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुवै घटनामा परेर मृत्यु भएकाको शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ। दुवै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
Discussion about this post