News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Saturday - August 13, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

इम्बोस्ड नम्बर प्लेट जडान २ दिनमा बल्ल


इम्बोस्ड नम्बर प्लेट जडान २ दिनमा बल्ल

बाटोमा नै घेर्छन् बिचौलियाले

काठमाडौं : छिनछिनमा पर्ने बर्खेझरी। ठेलमठेल लाइन। मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने झन्झटिलो प्रक्रियाले हैरान भए यातायात व्यवस्था कार्यालय सतुंगल पुगेका अर्घाखाँचीका मोहन पाण्डे। दुई दिनमा बल्ल काम सके। भन्छन्, ‘बिहानबाट लाइन बस्दा बल्ल बेलुका फर्म दर्ता भयो। पानीमा भिजेर लाइन बस्नुपर्ने। सरकारले ल्याएको नियम हामीजस्ता नागरिकलाई सहज छैन। यातायात कार्यालयमा सेवा होइन सास्ती छ।’

असारभित्रै बागमती र गण्डकी प्रदेशका सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना जारी भएपछि अहिले यातायात कार्यालयमा भीड बढेको छ। थोरै समयभित्र नम्बर प्लेट राख्नुपर्ने नियमले सेवाग्राहीलाई हैरानी थपिएको छ।

‘नयाँ स्टिम लिएर आउँछ तर, कार्यान्वयन गर्न नसक्नुको पछाडि सरकार धेरै नै लाचार छ। काठमाडौं उपत्यकाको मोटरसाइकलका लागि एक ठाउँ मात्रै तोकेको छ। यसले त भ्याउँदै भित्र्याउँदैन’, सेवा लिन पुगेका मोहन भन्छन्, ‘यसले गर्दा नागरिकले दुःख पाइरहेका छन्। खर्च र समय धेरै लागिरहेको छ।’

यातायात व्यवस्था कार्यालय सतुंगलमा मोटरसाइकलको मात्रै इम्बोस्ड नम्बर दिने व्यवस्था गरिएको छ। अत्यधिक चापकै कारण एक जना सेवाग्राहीले दुई दिन लगाएर काम सक्नुपर्ने बाध्यता छ। ‘सरकारले पुराना नियम फेर्ने र नयाँ नियम ल्याउँदा पनि व्यवस्थित नगर्दा सेवाग्राहीले दुःख पाएका छन्,’ ललितपुरका बुद्धिमान शाक्य भन्छन्, ‘नयाँ नियम पनि सेवाग्राहीलाई दुःख दिन मात्रै ल्याए जस्तो लाग्छ।’ यस्ता नियमले सेवाग्राहीलाई भन्दा बिचौलियालाई फाइदा हुने उनको तर्क छ।

बाटोमा नै घेर्छन् बिचौलियाले

सतुंगलको यातायात व्यवस्था कार्यालयको गेटमा कार्यालय समयमा पुग्दा सरकारको नियमले सेवाग्राहीलाई भन्दा पनि बिचौलियालाई फाइदा पुगेको प्रष्ट देखिन्थ्यो। झोला बोकेको कोही देखे बिचौलियाले घेर्ने र कामका विषयमा केर्ने काम सुरु हुन्छ।

बिहान ११ः३५ मा कार्यालय गेटमा अन्नपूर्णकर्मी पुग्दा सेवाग्राही ठानेर बिचौलियाको घेरामा हामी पनि प¥यौं। ‘४५ सयमा हामी इम्बोस्ड नम्बर प्लेट ल्याइदिन्छौं’, एक जना बिचौलिया भन्दै थिए, ‘धेरै भीड छ। हामी काम गराइदिन्छौं।’ मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ६ सय मात्रै राजस्व तिर्नुपर्छ। साइबरमा अनलाइन फर्म भर्दा तीन सय रुपैयाँ लिइन्छ। प्रायः सबै सेवाग्राही बिचौलियाको चंगुलमा पर्छन्।

सेवाग्राहीलाई मन परेन इम्बोस्ड नम्बर प्लेट

ललितपुरका बुद्धिमान शाक्य इम्बोस्ड नम्बर प्लेट जडानका लागि मोटरसाइकलसहित बायोमेट्रिक गर्न लाइनमा थिए। तर, उनलाई अंग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट खासै मन परेको थिएन। ‘अंग्रेजी भाषामा लेखिएको नम्बर प्लेट लगाएका सवारी देख्दै आफ्नै देशको जस्तो नलाग्दो रहेछ,’ उनले भने, ‘हाम्रै नेपाली भाषामा लेखिएको नम्बर प्लेट नै ठीक थियो। अंग्रेजी पढ्न नजान्नेलाई यो काम ?’ महँगो राजस्व लिएर पनि यो कामले नागरिकको मन नजितेको उनी बताउँछन्। ‘यो नम्बर प्लेट त कच्ची भीरपाखाको बाटोमा गाडी गुडाउँदा सजिलै फुट्ने र हराउने सम्भावना त्यत्तिकै छ’, उनले थपे।

आधुनिक जमानामा भन्दै सरकारले विभिन्न नियम ल्याए पनि त्यो दिगो र परिपक्व नभएको बताउँछन् उदयपुरका मुकेश उदास। ‘यो नम्बर प्लेटको नाममा सेवाग्राही ठग्ने काम भयो,’ उनले भने, ‘तर, मलाई त यो नम्बर प्लेट नै मन परेन।’

सेवा लिन छैन सजिलो

यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा भेटिए विकल विष्ट। बुधबार १०ः १३ मा भेटिएका उनी कारको इम्बोस्ड नम्बर प्लेट लिन पुगेका थिए। उनी भन्छन्, ‘प्रक्रिया धेरै झन्झटिलो छ। के हो इम्बोस्ड नम्बर ? यो बारेमा मलाई धेरै थाहा छैन। पछिका लागि राम्रो होला भनेर लिन आएको छु। चोरी हुँदा सवारी खोज्न सजिलो हुन्छ भन्छन्। हामीजस्तो फुर्सद नभएकालाई काम गराउन निकै कठिन छ।’  

ठूला सवारीका लागि फरक ठाउँ र सानाका लागि फरक ठाउँ तोकेपछि झनै समस्या भएको विष्ट बताउँछन्। ‘इम्बोस्ड नम्बर प्लेट नभएका गाडीलाई ट्राफिक कारबाहीले गर्छ भन्ने डरले आतंकित भएर बनाउन आएको हुँ,’ काठमाडौंका एलन प्रधान भन्छन्, ‘भाडा लगाएको सवारीसधान छ। कारबाहीमा परिएला भन्ने डरले इम्बोस्ड नम्बर प्लेट जडानका लागि एकान्त कुना आएँ। तर, काम गर्न साह्रै समस्या भयो।’

भक्तपुरका अनिल श्रेष्ठ पनि कारमा इम्बोस्ड नम्बर प्लेटका लागि त्यहाँ पुगेका थिए। बुधबार साढे १० बजे भेटिएका उनलाई पनि यो नम्बर प्लेट बारे खासै थाहा थिएन। ‘खै यो नम्बर प्लेट त लिनै पर्ने होला। विदेशमा पनि यस्तै सिस्टम छ। एउटा ठाउँबाट अर्को ठाउँमा गाडी पुग्दा मेसिनबाट फ्याट्टै थाहा हुन्छ’, उनले भने, ‘नेपालमा के सिस्टम हुन्छ थाहा भएन। सरकारी कार्यालयले नयाँ नयाँ सिस्टम ल्याउँछ। तर, त्यसको व्यवस्थित गर्दैन। जनतालाई दुःख मात्रै दिन्छ।’ सरकारले राजस्व उठाउन अनेक नियम ल्याएर तनाव दिएको उनको बुझाइ छ।

काठमाडौंका स्थानीय विजय कार्की भन्छन्, ‘सरकारले इम्बोस्ड नम्बर प्लेटको योजना चार–पाँच वर्ष अगाडि नै कार्यान्वयनमा ल्याउने भनेको थियो। तर, अहिलेसम्म झमेला गरिरहेको छ। १६ महिनामा २५ लाख गाडीमा इम्बोस्ड नम्बर लगाउने भन्छन्। यो भनेको दुःख दिने नियतमात्रै हो।’ नम्बर प्लेटका लागि ४५ मिनेट लाइन लाग्दा पनि उनीभन्दा अगाडि आएका चार जनाको काम भएको थिएन। उनले भने, ‘यो अवस्थाले १६ महिनामा कसरी २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट पाउनु।’

कर्मचारीलाई उस्तै हैरान

अबको दुई वर्षभित्र सबै सवारीसाधनमा इम्बोस्ड नम्बर लगाइसक्नुपर्ने सरकारको निर्णय रहेको बताउँछन् यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका प्रमुख मदनप्रसाद पोखरेल। चाँडो सक्नुपर्ने भएकाले काम गर्न कर्मचारीलाई पनि भ्याइनभ्याइ भएको उनको भनाइ छ। ‘पहिलाको गाडी नम्बर हटाएर इम्बोस्ड नम्बर प्लट लिनुपर्छ’, उनले भने, ‘२० दिन पछि अब हामी नयाँ सवारी दर्ता गर्दा नै इम्बोस्ड नम्बर जारी गर्छौं। पुरानाहरूलाई क्रमशः दिँदै जान्छौं।’ यो कामकै लागि एकान्तकुनामा दिनको झन्डै यहाँ तीन सय सेवाग्राही पुग्ने गरेका छन्। तर, काम भने एक सय जनाको पनि हुँदैन। ‘हामी यहाँबाट जारी गर्छौं। सेवाग्राहीले टेकुस्थित सवारी प्रशिक्षण कार्यालयबाट प्लेट लिनुहुन्छ,’ प्रमुख पोखरेलले भने।

यातायात व्यवस्था कार्यालय सतुंगलका प्रमुख दीपककुमार पोखरेल सेवाग्राही आएको दुई घण्टाभित्र सेवा दिने गरेको दाबी गर्छन््। ‘जनशक्तिले भ्याएसम्म सरकारले दिएको निर्देशनको हामीले पूर्ण पालना गरिरहेका छौं। दैनिक ४–५ सयसम्म सेवाग्राही एम्बुस्ड नम्बर प्लेट लिन आउनुहुन्छ’, उनले भने, ‘हाम्रो क्षमताले दुई–तीन सय मोटरसाइकलमा इम्बोस्ड नम्बर मात्रै जडान गर्न सकिरहेका छौं।’ बाँकी रहेकाहरूलाई फारम दर्ता गरेर अर्को दिन बोलाएर सेवा दिने गरेको उनले बताए।

एकान्तकुनाका प्रमुख पोखरेलले इम्बोस्ड नम्बर प्लेट नागरिकले मन नपाएको आपूmले पाएको बताए। ‘जनताले मन पाएका छैनन्। जबर्जस्ती लादेको आभास गरिराखेका छन्’, उनले भने, ‘पहिलाको नम्बर प्लेट जस्तो त अहिलेको इम्बोस्ड नम्बर प्लेट दिगो छैन। त्यो त हामीले स्वीकार्नै पर्छ।’

उनका अनुसार ६ हजार सवारीसाधनमा एम्बुस्ड नम्बर प्लेट जडान भएपछि यसको विरुद्धमा अदालतमा मुद्दा परेर काम रोकिएको थियो। अदालतको आदेश आएपछि फेरि इम्बोस्ड नम्बर जडान थालिएको हो। कोरोना महामारीले गर्दा पनि ढिलाइ भएको प्रमुख पोखरेल बताउँछन्। पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्नु पर्ने यातायात विभागले ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो।

यसरी सुरु भयो नेपालमा इम्बोस्डको चलन

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार नेपालमा २०७२ सालको बजेटमा पहिलो पटक यो विषयले प्रवेश पाएको थियो। त्यसपछि यसका लागि आवश्यक प्रक्रिया पूरा गरी २०७३ जेठ १९ गते विभाग र डेकाटुर–टाइगर आईटी (बंगलादेश संयुक्त राज्य अमेरिका जेभी) बीच इम्बोस्ड प्लेट उत्पादन तथा सवारीसाधनमा जडानसम्मका सबै काम गर्ने सम्झौता भएको थियो।

पाँच वर्षभित्रमा २५ लाख सवारीमा इम्बोस्ड प्लेट जडान गर्ने दुईपक्षीय सम्झौता भएको थियो। काम सम्पन्न भएपछि सम्बन्धित सबै संरचना नेपाल सरकारलाई हस्तान्तरण गर्ने र ठेकेदार कम्पनीलाई इम्बोस्ट नम्बर प्लेट संख्याका आधार भुक्तानी दिने सम्झौता थियो। जडानका लागि आवश्यक पूर्वाधार तयार नगरी कार्यान्वयनमा ल्याइएको भन्ने भनाइमा सत्य नरहेको सूचना अधिकारी पनेरुले बताए।

हालसम्म २५ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर जडान भएको यातायात विभागले जनाएको छ। ‘इम्बोस्ड नम्बर प्लेट जडानका लागि गर्नु पर्ने आवश्यक मात्रामा प्लेट उत्पादनको कार्य भएको छ। अहिले पनि हामीसँग २ लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा छ। जडानका लागि आवेदन प्रणाली र यसको पर्सनलाइजेसनको प्रणाली तयार भएको छ। फिटिंग गर्ने जनशक्ति पनि छ,’ पनेरुले भने।  विभागले प्लेट दुवानीका लागि हुलाकसँग सम्झौता गरेको छ। ‘उपत्यकाको पाँच स्थानमा र देशको अन्य पाँच गरी १० स्थानमा रीएफआईडी गेट निर्माण हुन्छ। यो गेटले इम्बोस्ड नम्बर प्लेटको उपयोगिता बढाउँछ। त्यो गेटले यस्ता नम्बर प्लेट जोडेको हरेक सवारीको तथ्यांक राख्छ,’ सूचना अधिकारी पनेरु भन्छन्।

सबै सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नका लागि २०७८ कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको थियो। यातायात विभागबाट बागमती प्रदेशको एकान्तकुना, ललितपुर तथा गुर्जुधारा काठमाडौं र गण्डकी प्रदेशको पोखराको कास्कीमा रहेको यातायात कार्यालयहरूमा आवश्यक पूर्वाधार जडान गरिएको छ।

ती कार्यालयहरूमा दर्ता भएका सवारीहरूलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचनामा भनिएको थियो। तर, संघीय कानुनबमोजिमको व्यवस्था तथा निर्णयअनुसार कार्यान्वयन नभएपछि विभागले जेठ २० गते साउन १ गतेदेखि इम्बोस्ड नम्बल प्लेट जडान भएको वा नभएको बारे ट्राफिक प्रहरीबाट अनुगमन गरिने उल्लेख थियो। प्लेट नलगाएको पाइए कारबाही गर्ने विभागले सूचना नै निकालेको छ। तर, आवश्यक पूर्वाधार र उपकरण बिना चाँडै जडान गर्न दबाब आएपछि त्यसको नागरिकले विरोध गरिरहेका छन्।

के हो इम्बोस्ड नम्बर प्लेट ?

इम्बोस्ड नम्बर प्लेट सवारीसाधनमा जडान हुने प्रविधियुक्त नम्बर प्लेट हो। अधिकांश विकसित देश तथा धेरै विकासोन्मुख देशहरूमा यो प्रविधियुक्त सवारी नम्बर प्लेट प्रयोगमा आएको छ। सरकारले उपलब्ध गराउने यो नम्बर प्लेट ‘मेसिन इम्बोस्ड’ हुने हुँदा अंक र अक्षर मेसिनबाट छापिएको हुन्छ। अर्थात् विगतमा जस्तो हातले नम्बर प्लेट कोरिएको हुँदैन। विभागका अनुसार एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न मिल्दैन। कि त्यसलाई ‘ड्यामेज’ गरेर फाल्नुपर्छ नत्र त्यो निकालेर अर्को हाल्न सम्भव नहुने विभागका अधिकारी बताउँछन्।

यसको सबैभन्दा ठूलो फाइदा भनेको गाडी चोरी हुने सम्भावना घट्ने हो। र गलत नम्बर प्लेट प्रयोग गर्न नमिल्ने पनि हो। दुईपांग्रे सवारीमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी स्टिकर टाँसिएको हुन्छ। चारपांग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा टाँसिएको हुन्छ। आरएफआईडी गेट (प्रवेशद्वार)मा इम्बोस्ड नम्बर प्लेट जडान भएका गाडी प्रवेश गरे त्यसको सूचना केन्द्रीय सर्भरमा आफैं जान्छ।

  • इम्बोस्ड नम्बर प्लेटमा कस्को स्वार्थ लुकेको छ ?
  • अंग्रेजी इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य तत्काल रोक्न सर्वोच्चको आदेश
  • इम्बोस्ड नम्बर जडान अवरोध
  • सरकारलाई गगन थापाले भने, ‘इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर’
  • इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्यविरुद्ध युवा संघले नयाँ बानेश्वरमा प्रदर्शन गर्दै
  • ‘साउन १ देखि सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइन ’
  • इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियारमा उजुरी

Related

Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वैदेशिक लगानीको सीमा घटाउँदै सरकार, अब २ करोडसम्म लगानी ल्याउन मिल्ने

वैदेशिक लगानीको सीमा घटाउँदै सरकार, अब २ करोडसम्म लगानी ल्याउन मिल्ने

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

ज्यापनिज भाषा पास गरेका नेपाली जापान जान पाउने

ज्यापनिज भाषा पास गरेका नेपाली जापान जान पाउने

अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ: निगम प्रवक्ता

अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ: निगम प्रवक्ता

बजेट आउनु अघि निरन्तर बढ्दै सेयर बजार, कारोबार भने खुम्चियो

सेयर बजारमा करेक्सन जारी : कारोबार रकम ४ अर्ब माथि

पेट्रोलियम पदार्थको कारोबार निजी लाई दिने तयारी छैन,उद्योग मन्त्री बडू

पेट्रोलियम पदार्थको कारोबार निजी लाई दिने तयारी छैन,उद्योग मन्त्री बडू

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,127
  • Total page views: 1,357

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.