चलचित्र
युवा पुस्ताका निर्देशकहरूको जोश र जाँगरले नेपाली सिनेमाको बजार गर्माएको सत्यतालाई नकार्न भने सकिँदैन।
पछिल्लो समय नेपाली चलचित्रमा देखा परेका दोस्रो पुस्ताका कलाकारहरूले साँच्चै नै लोभलाग्दो फड्को मारेका छन्। एकपछि अर्को गरेर सफलता पनि हात पारिरहेका छन्। नेपाली चलचित्र विधालाई हाँकिरहेका नायकनायिकाका सन्तानले कुनै समय नेपाली चलचित्रलाई बोकेर अगाडि बढाउँलान् वा यो क्षेत्रमा नौलो आयाम थप्लान् भन्ने कुरामाथि झट्ट विश्वास गर्न गाह्रो थियो। आजको पुस्तामा नेपाली चलचित्रकर्म वा समग्र कलाकारितालाई युवा पुस्तामाझ क्रेज बढाउन नेपाली कलाकर्मका दोस्रो पुस्ताले खेलेको अहं भूमिका र प्रशंसनीय उपस्थितिलाई कम आँकलन गर्न मिल्दैन।
एक समय यस्तो थियो कि सिनेमा हलमा नेपाली चलचित्र हेर्न जाने दर्शकको माहोल एकै खालको हुन्थ्यो, उही वर्ग, उही दर्शक अनि उही उपस्थिति। तर, जब अभिनेता भुवन केसीका छोरा अनमोल केसी, निर्देशक शोभित बस्नेतका छोरासलोन बस्नेत, नायिका झरना थापाकी छोरी सुहाना थापा, निर्देशक बद्री अधिकारीकी छोरी केकी अधिकारी र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलगायतले जब चलचित्रमा पाइला हाले तब युवा पुस्ता यसरी सिनेमा हलमा ओइरिएकी पहिला आफ्ना सन्तानलाई सिनेमा क्षेत्रमा प्रवेश गराउन नाक खुम्चाउनेहरूको दिमागमा पनि नेपाली सिनेमाप्रति सकारात्मक सोच पैदा गरायो। यी र यीलगायत पुराना कलाकारका सन्तानले दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली चलचित्रहरूलाई अगाडि बढाइरहँदा सिनेमाको बजार बढेको छ।
शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, निर्माता सुनीलकुमार थापाकी छोरी सुहाना थापा, कलाकार जयकिसन बस्नेतकी छोरी जान्बी बस्नेत, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ, हाँस्य कलाकार हरिवंश आचार्यका छोरा मोहितवंश आचार्य, हाँस्यकलाकार किरण केसीका छोरा सुदन केसी दोस्रो पुस्ता यतिबेला सक्रिय रूपमा चलचित्र क्षेत्रमा लागिपरेका छन्। कलाकार अशोक शर्माका छोरा अंकित शर्मा, पुराना नायक तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा बस्नेत, कलाकार टीका पहारीका छोरा गौरव पहारी, निर्देशक नारायण पुरीका छोरा संयम पुरी, चलचित्र निर्माता शेखर कोइरालाका छोरा संयोग कोइराला, कलाकार सानु ताम्राकारका छोरा सौरन ताम्राकार, कलाकार तथा निर्माता अरुण रेग्मीका छोरा अनुभव रेग्मी, नायक गजित विष्टका छोरा सौगात विष्टलगायत छन्।
हुन त एक दशकअगाडि पनि नेपाली चलचित्रकर्मका विशिष्ट कलाकार गोपालराज मैनालीकी छोरी सज्जा मैनाली र सुशीला रायमाझीकी छोरी प्रसिद्धिका रायमाझीले पनि दोस्रो पुस्ताको रूपमा नेपाली चलचित्रमा पाइला टेके। तर यी दुईले बुबाआमाको निधनसँगै यो क्षेत्रलाई माया मारे। सज्जा र प्रसिद्धिका विवाह गरेर विदेश पलायन भएपछि सिनेमा क्षेत्रलाई निरन्तरता दिन सकेनन्। सज्जाले नौ डाँडापारि, कर्मयोद्धा, आँखा लोभी मन पापीलगायतका चलचित्रमा काम गरिन् भने प्रसिद्धिकाले धनसम्पत्ति नामक चलचित्रमा गरिन्। चलचित्र निर्देशक शम्भु प्रधानकी छोरी ईश्वरी प्रधान र छोरा चंकी प्रधानले पनि एक समय राम्रै चर्चा कमाएका हुन्। तर यतिबेला ईश्वरी विवाह गरेर १० वर्षअगाडि परदेश लागेपछि उनको कलाकारिताले निरन्तरता पाउन सकेनन् भने चंकी पनि बाल कलाकारिता पछि अगाडि बढेनन्। उद्धव पौडेलका छोरा निरक पौडेलले पनि बास कलाकारको रूपमा थुप्रै चलचित्रहरूमा काम गरेका थिए। युवा अवस्थामा आइपुगेपछि भने उनले अभिनय यात्रालाई छाडे।
आफ्ना अभिभावकको समयमा अभिभावकहरूले कमाएको क्रेज र हात पारेको क्रेजभन्दा आजका दोस्रो पुस्ताले पाएको वाहवाही बढी देखिन्छ। सिनेमा हलमा छिर्न मन नपराउने र त्यसतर्फ आकर्षण नै नभएको विचार पोख्ने युवा पुस्तालाई सिनेमा हलसम्म खिच्न सफल भएका आजका दोस्रो पुस्ता धन्यवादको पात्र बनेका छन्। नाम र दाम पनि दोस्रो पुस्ताले मनग्गे हात पार्ने गरेका छन्। एउटा चलचित्रमा काम गरेबापत एउटा हिरोले ५० लाखसम्म पारिश्रमिक हात पार्न सक्छ भन्ने कल्पना कुनै समय कोरा कल्पना मानिन्थ्यो तर, आज अनमोल केसीको उपस्थितिले यो अब कल्पना मात्र रहेन भन्ने कुरा साबित गरिदियो। कलाकारको सन्तानको दोस्रो पुस्ताले बढाएको नेपाली सिनेमाको क्रेज र बजारले अब यो क्षेत्र घाटाको व्यापारको क्षेत्र मात्र रहेन भन्ने कुरा साबित गरिदिएको छ। नेपाली चलचित्रमा चल्न सके नाम, दाम, क्रेज र वाहवाही सबै छ।
युवा पुस्ताका निर्देशकले नेपाली चलचित्रको निर्देशन विधामा हात हालेपछि नेपाली सिनेमाको धार र बाटो मात्र परिवर्तन भएन कि सिनेमा हलमा आउने दर्शकमा बढोत्तरी भएको पाइन्छ।
कुनै समय आफ्ना सन्तानलाई रहरले अभिनयको स्वाद चखाएका अभिभावक चलचित्रकर्मीहरू आज आएर आफ्ना सन्तानलाई चलचित्र विधालाई नै कर्म क्षेत्र बनाउन प्रेरित गर्न थालेको देखिन्छ– ‘हाम्रो पालामा गाह्रो थियो। नाम थियो केही तर दाम त कल्पनामात्र थियो। त्यतिबेला रहरले कलाकारिता गरिन्थ्यो भने आज यो विधामा समर्पित भएर लाग्न सकियो भने नाम र दाम छ भनेर ठोकुवा गर्न सकिन्छ। त्यसैले सन्तान चलचित्र विधामा लाग्दा दंग छु’, नायक भुवन केसी भन्छन्।
यता झरना थापाकी छोरी सुहानाको क्रेज पनि लोभलाग्दो छ। हुन त उनले काम गरेको चलचित्र दुईवटा मात्र हो तर, क्रेज हेर्दा दसौं चलचित्रमा काम गरेको र चलचित्र विधामा दसौं वर्षदेखि लागिसकेको प्रतीत हुन्छ। ‘छोरीले नाम र चर्चामा मारेको फड्को हेर्दा खुसी लागेको छ। चलचित्र ए मेरो हजुर–४ बजारमा आएपछि सुहानाको चर्चा झनै चुलिनेछ’, झरना भन्छिन्। त्यसो त, कुनै समय आफ्नो सन्तान कलाकारितामा लागोस् भन्ने सोच कमै कलाकारका अभिभावकहरूमा आउने गथ्र्यो। तर, आज यस्तो सोच आउँदा अभिभावक कलाकारहरू हिच्किचाउनुपर्ने अवस्था रहेन। कलाकार बन्नु पर्दैन, अरू पेसा र क्षेत्र रोज भनेर सन्तानलाई दबाब दिने अभिभावक कलाकारहरू नै कलाकारितामा लाग्न सन्तानले रुचि देखाए भने प्रोत्साहन मात्र होइन कि शिक्षा र प्रशिक्षिण लिनुपर्छ भनेर सन्तानलाई साथ दिन थालेका छन्।
नेपाली चलचित्र विधामा पछिल्लो समय दोस्रो पुस्ताको आकर्षण बढ्नुमा अब कलाकारितामा लाग्दा सुरक्षित पनि छ भन्ने विश्वास बढेको छ। वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा भन्छन्– ‘पहिला कुनै भूमिकामा अभिनय गराउनु धेरै कलाकारका सन्तानलाई धेरै आग्रह गर्नु पर्दथ्यो। कलाकार खोज्दा खोज्दा हैरान भइन्थ्यो। आज त्यो अवस्था छैन। नेपाली कलाकारितामा देखा परेका दोस्रो पुस्ताको आकर्षण र कलाकारिताले खिचेको दोस्रो पुस्ताको ध्यान साँच्चै लोभलाग्दो छ।’ शर्माले आज कुनै पनि कलाकारका बाबुआमाले सन्तानलाई गीत गाउँदा र फिल्म खेल्न जान्छुभन्दा गाली गर्दैनन्। कलाकारका सन्तानको कलाकारितामा बढेको प्रवेशले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको कुरा बताए।
चलचित्र विधामा होमिएको परिवार हो, थापा परिवार। नायिका सुहाना थापाका पिता सुनीलकुमार थापा चलचित्रका निर्माता हुन् भने आमा झरना थापा निर्देशक। परिवारका यी तीन सदस्यले चलचित्र विधामा देखाएको सक्रियता तारिफयोग्य छ– ‘चलचित्र विधाबाहेक केही जानेनौं र पढेनौं पनि। यही विधालाई आत्मसात् गर्दै अगाडि बढ्दा सन्तानलाई पनि यही विधामा प्रवेश गरायौं। पहिला त छोरीलाई किन नायिका बनाएको भनेर धेरैले गाली पनि गरे। आज छोरीको नाम र उचाइले एउटा ख्याति कमाएपछि पहिला विरोध गर्नेहरू पनि साथ दिन थाल्नु भएको छ।’ निर्देशक एवं चलचित्र ए मेरो हजुर–४ की नायिका सुहानाकी आमा झरना थापाको भनाइ हो यो।
सरल र सहज भूमिकामा देखा पर्ने मिजासिला कलाकारको रूपमा चिनिने सलोन बस्नेत र गौरव पहारीको यात्रा पनि लामै चल्ने देखिन्छ। निर्देशक बद्रीकी छोरी केकी अधिकारीले नेपाली चलचित्रकर्ममा पहिचान बनाएकी छन्। यता एक्सन किङ शिव श्रेष्ठका छोरा शक्ति अस्ट्रेलियाको सिड्नीमा बस्ने गरे पनि उनले कहिले सिड्नीमै बनेको र कहिले नेपालमै बनेको नेपाली चलचित्रमा काम गरेका छन्। शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले सँगै काम गरेको चलचित्र एउटा यस्तो प्रेम कहानी प्रदर्शन भइसकेको छ भने शक्तिले गरेको अर्को चलचित्र लप्पनछप्पन–२ रिलिज हुँदै छ।
३३ निर्देशनमा नयाँ पुस्ता ३३
चलचित्रकर्मीका सन्तानहरूले जसरी चलचित्र अभिनयमा फड्को मारिरहेका छन्। त्यसको दाँजोमा चलचित्र निर्देशन विधामा भने कलाकर्मीहरूका सन्तानको उपस्थिति त्यति बलियो हुन सकेको छैन। हाँस्यकलाकार किरण केसीका छोरा सुदन र नायक गजित विष्टका छोरा सौगातबाहेकले निर्देशन विधामा हात हालेको देखिएन। सुदनले दाल भात तरकारीको निर्देशन गरे भने सौगातले कम उमेरमा चलचित्रको निर्देशन गर्ने निर्देशकको रूपमा गिनिज बुकमा नाम लेखाए। उनले चलचित्र लब यू बाबा बनाएर गिनिज बुकमा नाम लेखाएका थिए।
नेपाली चलचित्रलाई एउटा उचाइमा पुर्याएका तुलसी घिमिरे, यादव खरेल, शम्भु प्रधान, अशोक शर्मा, कृष्ण मल्ल, लक्ष्मीनाथ शर्मा, नारायण पुरी, शोभित बस्नेत, नरेश पौडेल, मदन घिमिरे, दीपक श्रेष्ठ, एभरेस्ट सूर्य बोहरालगायतका निर्देशकले अगाडि बढाएको नेपाली चलचित्र क्षेत्रको निर्देशन फाँटमा यही विधालाई कर्म मान्दै आएको युवा पुस्ताले यतिबेला नेपाली चलचित्रको बजार र स्वरूप नै फेरिदिएका छन्। उनीहरूको यो संलग्नतालाई पुराना निर्देशक र चलचित्र विधासँग आबद्धता जनाउनु हुनेहरूले सकारात्मक रूपमा लिएका पनि छन्। ‘नयाँ पुस्ता, नयाँ जोस अनि नयाँ विषय र काम गर्ने शैलीमा नयाँ बाटोले साँच्ची नै नेपाली सिनेमाको बजार र उपस्थितिलाई फराकिलो बनाएको छ।’ पुराना चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माको भनाइ छ।
यता नोभेम्बर रेन र प्रसाद जस्ता हिट चलचित्रका नयाँ पुस्ताका निर्देशक दिनेश रावत पुराना पुस्ताले कोरेको बाटोलाई नबिगारीकन त्यसमा नयाँ रङरोगन गर्दै समयअनुसार आजको पुस्ता हिँड्नुपर्ने कुरातर्फ जोड दिन्छन्। निश्चल बस्नेतको लुटबाट एउटा नयाँ धार समातेको नेपाली चलचित्रको विधाले यसपछि नै निर्देशन फाँटमा नयाँ पुस्ताका निर्देशकहरू पायो। निश्चल बस्नेत, दिनेश डीसी, सुरज सुब्बा, रामबाबु गुरुङ, दीपेन्द्र के. खनाल, प्रदीप भट्टराई, दीपाश्री निरौला, झरना थापा, दीपेन्द्र लामा, ऋषि लामिछाने, निकेश खड्का, सविर श्रेष्ठ, दिनेश राउत, मुस्कान ढकाल, हेमराज बीसी, विनोद पौडेल, सुदर्शन थापा, दिवाकर भट्टराई, रमेश एम के पौडेल, मिलन चाम्स, नबल नेपाललगायतका युवा पुस्ताका निर्देशकले नेपाली चलचित्रको निर्देशन विधामा हात हालेपछि नेपाली सिनेमाको धार र बाटो मात्र परिवर्तन भएन कि सिनेमा हलमा आउने दर्शकमा बढोत्तरी भएको पाइन्छ।
लुट होस् या छक्का पञ्जा। ऐ मेरो हजुर होस् या पशुपति प्रसाद। कबड्डी कबड्डी होस् या बुलबुल। जात्रा होस् या मायोज बार। युवा पुस्ताका निर्देशकहरूको जोश र जाँगरले नेपाली सिनेमाको बजार गर्माएको सत्यतालाई नकार्न भने सकिँदैन। यीबाहेक अरू पनि सिनेमा थुप्रै छन्, तीमध्ये केहीले धन र नाम दुवै कमाए भने कतिले काम र क्षमताको प्रशंसा पाए। तर पनि नेपाली चलचित्रको निर्देशन विधामा नयाँ प्रविधिसँगै प्रवेश गरेका जुझारु, मेहनती र केही गरौं भन्ने जोश बोकेर आएका नयाँ पुस्ताका निर्देशकबाट आगामी दिनमा नेपाली चलचित्र क्षेत्रले धेरै सफलता, नाम, दाम, उचाइ र वाहवाही पाउने निश्चित छ।
Discussion about this post