३० जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए ।
उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा डा दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए ।
त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।
मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।
त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण अघिल्लो बर्षको प्रश्नपत्र दोहोरिने गर्दछ ।
Discussion about this post