काठमाडौं : सरकारले देशकै सबैभन्दा पुरानो त्रिचन्द्र कलेजलाई पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेको थियो। अर्थमन्त्री जनार्दन शर्माले चालु बजेटमार्फत् त्रिचन्द्र कलेजलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका थिए। तर, त्यो घोषणा कागजमै सिमीत भएको छ। अहिलेपनि विद्यार्थीहरु निकै दुःख गुजारेर पढीरहेका छन्।
नेपालको सबैभन्दा पुरानो कलेज हो त्रिचन्द्र कलेज। विसं १९७५ भदौ १२ मा स्थापना भएको यो कलेज अहिले भौतिकरुपमा जीर्ण अवस्थामा छ। भूकम्पपछि न त पुननिर्माण भएको छ न त सुधारका गतिविधी।
जीर्ण अवस्थामा अहिलेपनि पठनपाठन भइरहेको छ। १०४ वर्षपूरा गरेको त्रिचन्द्र कलेजले थुप्रै जनशक्ती उत्पादन गर्यो। यहाँको उत्पादन देशको मन्त्रीदेखि सरकारको उच्च ओहोदासम्म पुगेका छन्। केही बैज्ञानीकसमेत बने। तर त्रिचन्द्रको अवस्था जहाँको त्यहि छ।
क्याम्पसको भुईमा लेउ लागेको छ। भवन चौतर्फी बर्खे झार जंगलले घेरिएको छ। २०७२ को भूकम्पले क्षति पुगेपछि तीनतले पुरातात्विक भवन झन् जीर्ण बन्न पुग्यो। ‘रातो स्टिकर’ टाँसिएको भवनको जीर्णोद्धार कार्य सरकारी प्राथमिकतमा परेको छैन।
पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने भनेपनि प्रभावकारी तवरबाट काम अघि बढ्न सकेको छैन। केही त दिउँसै लागूपदार्थ सेवन गरेर बसिरहेका पनि देखिन्छन्। कलेजको सुरक्षामाथिसमेत प्रश्न उठेको छ।
त्रिचन्द्रका अखिल क्रान्तिकारीका नेता असोक भण्डारीले सरकार संवेदनशिल नबन्दा त्रिचन्द्रको जिर्ण भवनमा पढ्न बाध्य भएको बताए। उनले भने, ‘यहाँका भवनहरु अस्तव्यस्त छन्। पुर्नसंरचनामा कसैको ध्यान गएको देखिदैंन।’
यस्तै नेपाल विद्यार्थी संघले त्रिचन्द्रका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियानसमेत चलाएको छ। यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ।
शिक्षा मन्त्रालयले पुननिर्माणमा चासो नदिएको विद्यार्थी संगठनहरुको आरोप छ। हाल त्रिचन्द्रमा चार हजारबढी विद्यार्थीहरु अध्ययनरत छन्।
Discussion about this post