चितवन : असार पहिलो साता भरतपुर २७ को राधा कृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेत बाघको सिकार बनिन्। साउन महिना यता मात्रै चितवनमा १६ जनाले बाघको आक्रमणमा ज्यान गुमाएका छन्। सबैभन्दा धेरै मंसिर, चैत र जेठ महिनामा तीन–तीन जनाको आक्रमणमा निधन भएको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ।
बाघको बासस्थान परिवर्तन हुँदा तथा आहार, पानी खोज्दै जाँदा मानिसहरू यसको आक्रमणमा पर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। भन्छन्, ‘बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या पछिल्लो समय बढ्दै गएको छ।’ निकुञ्जको तथ्यांकअनुसार जेठ २४ गते भरतपुर २३ को घैलाघारी मध्यवर्ती वनमा बाघले आक्रमण गर्दा ५५ वर्षीया मंगली बोटेको ज्यान गएको थियो। जेठ २७ मा एकै दिनमा दुई ठाउँमा बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणमा परेका राप्ती नगरपालिका–१ पिप्ले डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर वाइबा तामाङ घाइते र भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवा बाँच्न सफल भए।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्षको तुलनामा धेरै नै बढी हो। बाघको संख्या बढ्नु र बाघको उपस्थिति मध्यवर्ती क्षेत्रमा बढ्न थालेको संरक्षण अधिकृत बताउँछन्। निकुञ्जका सूचना अधिकारी तिवारी भन्छन्, ‘बाघको चहलपहल बढेको छ। जंगल जाँदा सावधानी नअपनाउँदा पनि यो क्रम थप बढेको हो।’
स्वभावले बाघ मानिससँग डराउने र लजाउने प्रकृतिको जनावर हो। पछिल्लो घटना हेर्दा मानिस निहुरिएर काम गरेको बेला मात्रै बाघले आक्रमण गरेकोे अनुसन्धानले देखाएको सूचना अधिकारी तिवारी बताउँछन्। घाँस काट्दा, निगुरो टिप्दा निहुरिने हुँदा बाघले जनावर ठानेर झुक्किएर आक्रमण गरेको घटनाले देखाएको उनको तर्क छ। भन्छन्, ‘उभिएर हिँडेको बेला दुर्घटना कमै भएको छ। जंगलमा पैदल हिँडेका पर्यटकलाई आक्रमण गरेको छैन। मानिस निहुरिएको बेला बाघले प्राकृतिक आहारा ठानेर आक्रमण गरेको घटनाले देखाएको छ।’
बाघ विज्ञको तर्क पनि सूचना अधिकारी तिवारीको जस्तै छ। ‘आहार प्रजाति ‘प्रे’ ठानेर आक्रमण गरेको हुन सक्छ। नत्र बाघले मान्छे कमै खान्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने भन्छन्। लुकेर बसेको बेला मान्छे अगाडि आए वा आहारा जस्तो देख्यो भने आक्रमण गर्न सक्ने संभावना हुने उनको तर्क छ। उनी अघि भन्छन्, ‘एक पटक मान्छेलाई आक्रमण गरेपछि मानिस पनि मेरो आहारा ठानेर आक्रमण गर्न सक्छु भन्ने ठानेको भने हुन सक्छ। बाघको आहार प्रजाति भनेको सबै चारखुट्टे नै हुन्छन्। मान्छे पनि निहुरिएको बेला मेरै आहारा सोचेर आक्रमण गर्छ।’
बाघले आक्रमण गरेको अधिंकाश घटना वनमै भएको छ। चितवनमा पछिल्लो चारवटा घटनालाई हेर्ने हो भने पनि मानिस घाँस काट्दा र निगुरो टिप्दा भएको छ। अशक्त भएर अरू जंगली जनावर मार्न नसकेको अवस्थामा मान्छेलाई आक्रमण गरेको घटना पनि धेरै छन्। कमजोर, घाइते, दाँत, नङ्ग्रा भाच्चिएको बाघले शिकार गर्न सक्दैन। त्यस्तो बाघले पनि मान्छेलाई आक्रमण गर्ने संभावना बढी हुन्छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पूर्वप्रमुख रामकुमार अर्यालले बाघको चहल–पहल बढेको बताए। ‘पहिला नभेटिने ठाउँमा बाघ सजिलै भेटिने गरेको छ। बाघको संख्या बढेको देखिन्छ,’ उनले भने, ‘घाँस दाउरा गर्दा सजग हुनुपर्छ।’ कतिपय स्थानमा नागरिकले सावधानी नअपनाउँदा घटना बढेको विज्ञहरू बताउँछन्। ‘पहिला बाघ नभएको वनमा बाघ बस्न थाल्यो। तर, मानिसहरूले पहिलाको जस्तै गरेर सावधानी नअपनाई जाँदा घटना हुने गरेको छ,’ डा. लामिछानेले भने, ‘जुनसुकै बेला जहाँ पनि बाघ हुन सक्छ भनेर जंगल वा झाँडी भएको ठाउँमा जाँदा सचेत हुनुपर्छ।’
पछिल्लो समय मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिने गरिएको छ। यसरी नियन्त्रणमा लिएको बाघलाई सकेसम्म जंगलमा छोडिदैन। फेरि आक्रमण गर्न सक्ने खतरा हुन्छ। त्यस्ता बाघलाई पहिचान गरेर नियन्त्रण गरेर राखिन्छ। बाघको आनिबानी फरक हुन थाल्यो भने त्यस्ता बाघलाई नियमति अनुगमन गरेर आवश्यक परे नियन्त्रणमा लिइन्छ। सन् २०१८ मा देशभर २ सय ३५ बाघ हुँदा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ थिए। यसवर्ष बाघ गणना गरिएको छ। विश्व बाघ दिवसको अवसरमा सार्वजनिक हुनेछ।
Discussion about this post