किशोर बुढाथोकी-
विराटनगर, असार १२ गते । रातको समयमा विद्युत चोरी गर्ने आठ जना मोरङको कटहरी र विराटनगरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ का २९ वर्षीय महानन्द चौधरी, ५० वर्षीय रञ्जित पासवान, ४३ वर्षीय शेरबहादुर सार्की, ५६ वर्षीय हरिचरण पासवान तथा कटहरी गाउँपालिका–१ का २२ वर्षीय रोशन गिरी, १८ वर्षीय विकाश घिमिरे, ४१ वर्षीय सञ्जय मग्राती र ३७ वर्षीय दिलिप राजवंशी रहेका छन् ।
विद्युत् चोरी गर्दै गर्दा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार राति उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा विद्युत् चोरीमा संलग्नलाई पक्राउ गर्न संयुक्त टोली पुगेको हो । ‘रातको समयमा अवैध तरिकाले हुकिङ गरी विद्युत् चोरी गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘चोरीको बिजुली घरमा फ्रिज र पंखालगायत विभिन्न इलेक्ट्रोनिक सामग्री चलाउनदेखि सिटी सफारी चार्ज गर्नसमेत प्रयोग गरिँदो रहेछ ।’
विद्युत् चोरी एवं चुहावट नियन्त्रण गर्न प्राधिकरणसँगको समन्वयमा कारबाही तीव्र पारिएको एसपी कोइरालाको भनाइ छ। पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि विद्युत् प्राधिकरणको जिम्मा लगाइएको जानकारी उनले दिए। कोइरालाले विद्युत् चोरी गर्दा ज्यानसमेत जोखिममा पर्ने हुँदा यस्तो अवैध काम गर्न नहुने बताए ।
प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार चोरीको बिजुली बढी विद्युत् खपत हुने सामग्रीमा प्रयोग गर्ने गरेको फेला परेको छ ।
पक्राउ परेकाहरुलाई विद्युत् चोरी गर्दा प्राधिकरणलाई परेको हानीनोक्सानीको मूल्याङ्कन गर्दै दोब्बर जरिवाना गरेर छाडिने खड्काले बताए । घरघरमा मिटर नहुँदा पनि विद्युत् चोरी हुने गरेको जनगुनासो धेरै आउने गरेको बताउँदै उनले पछिल्लो समय मिटर जडानलाई तीव्र पारेर लगिएको जानकारी दिए ।
विद्युत् चुहावट नियन्त्रणका लागि समन्वय एवं सहयोग गर्न जनप्रतिनिधिलाईसमेत आग्रह गरिएको खड्काले बताए । ‘गाउँगाउँमा हुकिङ गरेर हुने विद्युत चोरी नियन्त्रणका लागि सक्रियता बढाइएको छ,’ उनले भने, ‘६० दिनभन्दा बढीको विद्युत महशुल नबुझाउने र बाँकी बक्यौता राख्नेको लाइन पनि धमाधम काट्न थालिएको छ ।’ अन्नपूर्ण
Discussion about this post