सिमरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिंदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए।
प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना रहेको भन्दै दुबै आयोजना निर्माणको काम नरोकिने बताएका छन्। देउवाले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणको कामलाई प्राथमिकतामा राखेको समेत बताए।
‘विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो। त्यसैले दुवै आयोजना बन्नुपर्छ’, देउवाले भने, ‘त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने हो।’ प्रधानमन्त्री देउवासँगै आएका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनुपर्ने बताए। समयमै विमानस्थल नबने राज्यको अर्बौं लगानी खेर जाने भन्दै प्रचण्डले विमानस्थल निर्माणमा ढिलाइ गर्न नहु उल्लेख गरे।
प्रचण्डले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल ‘गेम चेन्ज’ प्रोजेक्ट रहेको भन्दै प्रधानमन्त्री पनि विमानस्थल निर्माणका लागि सकारात्मक देखिएको बताएका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए। उनले पनि विमानस्थललाई द्रुतमार्गसंग जोडेका छन्।
प्रधानमन्त्रीको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए। टोलीले जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरेका थिए।
Discussion about this post