काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा अनाधिकृत व्यक्तिको संलग्नता भएको भन्दै संसदीय छानविन समिति गठनको माग गरेका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले करका दर घटाउने र बढाउनेलगायतका सबै चिज अत्यन्तै बदनियतका साथ आएको बताएका हुन्।
उनले भने, ‘म दोहोर्याएर भन्छु यस विषयमा संसदीय छानविन समिति गठन गरेर छानविन गरौं। बाहिरिया मान्छे, विचौलिया मान्छे राखेर बजेट बनाउने कुरा कल्पनै गर्नै सकिँदैन। योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त गर्ने तमासा के हुन्छ?’
ओलीले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्ति प्रवेश हुनु सामान्य कुरा नभएको र यो विषयमा निष्पक्ष छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले भने, ‘यसको छानविन समिति बनाउनुपर्छ। निष्पक्ष छानविन समिति गठन हुनुपर्छ। यसको प्रतिवेदन संसदमा आउनुपर्छ। प्रश्न उठेको छ यसको सहि, सत्य, तथ्य जवाफ आउनुपर्छ। अब त हुँदा हुँदा फुटेज डिलिट गरियो। डिलिट गर्न पाइन्छ? कर्तव्य त प्रस्तुत हुनुपर्थ्यो।’
ओलीले छानविन गरेर अर्थमन्त्री र सरकार निर्दोष ठहरिए राम्रो हुने भन्दै छानविन गर्नैपर्ने माग गरे।
Discussion about this post