काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा २४ सै घण्टा गुनासा र समस्या सुनी सम्बोधन गर्न हटलाइन सेवाको व्यवस्था गर्न विद्यार्थीहरूले माग गरेका छन्।
अनेरास्ववीयुले त्रिवी परीक्षा नियन्त्रण कार्यालयलाई १५ दिनभित्र हटलाईन सेवाको व्यवस्था गर्न परीक्षा नियन्त्रण कार्यालयलाई अल्टीमेटम दिएको छ। अनुशासन भंग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक, कर्मचारीहरूको अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्न आग्रह गरेको छ।
त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गरिनुपर्ने, प्रत्येक जिल्लाभित्रको परीक्षा केन्द्र सम्बन्धित जिल्लाभित्रै परीक्षा सञ्चालन गर्नेगरी व्यवस्था गरिनुपर्ने अनेरास्ववीयुको माग छ।
अनेरास्ववीयु केन्द्रिय सचिवालय सदस्य एवम् त्रिवि इन्चार्ज मदन विष्टले विद्यार्थीहरूलाई सजिलो हुनेगरी प्रदान गरिने सेवालाई विस्तृत रूपमा उल्लेख गरी एक हप्ताभित्र नागरिक बडापत्र तयार पारी उपयुक्त ठाउँमा प्रस्ट रूपमा देखिने गरी राख्न माग गरिएको बताए।
उनले भने, ‘परीक्षा दिएर १२० दिन पूरा भैसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिन भित्रमा प्रकाशित गर्न भनेका छौं। सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्रमा प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयलाई ध्यानाकर्षण गराएका छौं।’
आवश्यक कागजातसहित प्रक्रिया पूरा भएका विद्यार्थीहरूको प्रमाणपत्र २४ घण्टाभित्र दिने व्यवस्था गरिनुपर्ने, विविध कारणवश निर्धारित शैक्षिक वर्ष भित्र तह पुरा गर्न नपाएका विद्यार्थीहरूलाई समयसमयमा मौका परीक्षाको व्यवस्था गरिनुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराउने सबै सेवाहरूलाई अनलाइनबाट पनि सुरु गर्नुपर्ने अनेरास्ववीयुको माग छ।
Discussion about this post