काठमाडौं । नेकपा (एमाले)ले सातै प्रदेशमा संघ र प्रदेशको निर्वाचनको तयारी गर्न प्रशिक्षण सुरु गरेको छ। एमाले बाग्मती प्रदेश कमिटीले सांगठनिक सुदृढीकरण र कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्न बुधबार प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।
प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए।
बर्तौलाका अनुसार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष, बिष्णु पौडेल, काशीनाथ अधिकारीलगायतले प्रशिक्षण दिने छन्। प्रशिक्षणमा बागमती प्रदेशभित्रका प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, पार्टीका केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी र निर्वाचित जनप्रतिनिधि सहभागी हुने उनले बताए।
एमाले महासचिव शंकर पोखरेलले अवसरवाद र अराजकतावाद अन्त्य गर्न प्रशिक्षण र संगठनात्मक काममा जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन्। ‘विचारधारात्मक कामको अभावमा अवसरवाद र संगठनात्मक कामको अभावमा अराजकतावाद मौलाउने गर्दछ। ’ उनले भने, ‘प्रशिक्षण र संगठनात्मक काममा जोड देऔं।’
Discussion about this post