काठमाडौं,१५ साउन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एउटा टिमले चोरी भएको मोबाइलबारे निगरानी गरिरहेको थियो । मोबाइल ललितपुरको बालकुमारीमा ‘एक्टिभ’ भयो । सो मोबाइल चलाउने व्यक्ति थिए- भारत मोतिहारी घर भएर बालकुमारीमा बस्दै आएका सुनिल कुमार जैसवाल ।
मोतिहारीको घोडासानका २९ वर्षीय जैसवालको कवाडी संकलन गर्ने गोदाम छ । जैसवाललाई पक्रेर अनुसन्धान गर्दा गोदामबाट २५१ तोला चाँदीका मूर्ति र गहना फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
२०७९ जेठ ९ मा राति बुद्धनगर बस्ने रोशन भण्डारीको डेराबाट मोबाइल र ल्यापटप चोरी भएको थियो । सो चोरीबारे अनुसन्धान गर्दा जैसवाल पक्राउ परेका हुन् । जैसवालले चोरीका गहना र सामान जानीजानी खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले जानकारी दिए । जैसवालको डेराबाट प्रहरीले चोरीका सुनका गहना ९ ग्राम, टिभी ३ थान, कम्यूटर मनिटर २ थान, चरेशको गाग्री, थाल, कचौरा र पानि तान्ने मेशिन लगाएका सामान बरामद गरेको छ । गोदामबाट प्रहरीले विभिन्न देशका मुद्रा पनि बरामद गरेको छ ।
अरोपीमाथि चोरी मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिने एसपी कोइरालाले जानकारी दिए ।
Discussion about this post