काठमाडौं,१७ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा आयातित अधिकांश फलफूल तथा तरकारीमा जीवनाशक विषादी भेटिएको बताएको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले कार्तिक १ गतेदेखि असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमूनाहरुको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलुलगायतका ५१ वटा नमूनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको जनाएको हो ।
कृषि मन्त्रालयको निर्देशनमा कार्तिक १ गतेबाटै विभागका ७ वटा कार्यालयले द्रुत गतिमा परीक्षणको काम थालेको समेत विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा भएका कामहरुको बारेमा जानकारी दिँदै विभागले ४ हजार १ सय २७ खाद्य नमूनाको परीक्षण गर्दा २ सय २४ वटा नमूना खान अयोग्य रहेको पाइएको समेत जनाएको छ । सोहि अवधिमा दाना, होटल, राजमार्गका रेष्टुरेन्टलगायतको ८ हजार ८ सय ६६ पटक अनुगमन गरिएको विभागले जानकारी दिएको छ ।
सोहि अवधिमा १२ वटा अन्तराष्ट्रिय सीममा अवस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा ५१ हजार ७ सय ६७ वटा खाद्य पदार्थका नमूनाहरु परीक्षण गरिएको विभागका महानिर्देशक डा.मतिना जोशी वैद्यले जानकारी दिइन्।
उनले गण्डकी प्रदेशमा खाद्य परीक्षण केन्द्र स्थापना गरिएको जानकारी दिइन्। उनले फलफूलमा विषादी प्रयोगको गुनासो बढेपछि सबै प्रदेशमा एकै पटक अनुगमन गरिएको र सो क्रममा फलफूल पकाउन प्रयोग हुने रसायन प्रयोग गरेको पाइएको जानकारी दिइन्। त्यस्तै विभागले संक्रामक रोग नियन्त्रण लक्षित विशेष अनुगमनलाई पनि तीव्रता दिएको जनाएको छ ।
Discussion about this post