काठमाडौ, २९ साउन। रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनामा स्थानीयले तोडफोड तथा आगजनी गरेका छन्। स्थानीयका लागि जारी हुन लागेको आईपीओका विषयमा असन्तुष्टि जनाउँदै गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन्।
आयोजनाले दिएको जानकारी अनुसार स्थानीयले साइड अफिस, सवारी साधन लगायतमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन्।
करिब ७०-८० जनाको समूहमा आएका स्थानीयले पाउने १० प्रतिशत सेयरमध्ये अतिप्रभावितका रूपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि हातपात गरेका छन्।
कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्याएका छन्। उनीहरुले कार्यकक्षभित्रै पसेर वर्किङ चेम्बर भत्काइदिएका छन्। आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन्। कार्यालयका विभिन्न संरचनाहरु भत्काइदिएका छन्। तोडफोडका कारण आयोजनामा करोडौंको क्षति पुगेको छ।