वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरेका छन् ।
दोषीलाई कारबाही नभएसम्म वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवामा आफूहरू सहभागी नहुने चिकित्सकहरूले बताएका छन् ।
रेजिडेन्ट एसोसियसन अफ न्याम्सका अध्यक्ष डा. शेषराज घिमिरेले भर्ना भइसकेका बिरामीलाई भने सेवा नरोकिने बताए । कान्तिपुरसँग कुराकानी गर्दै डा. घिमिरेले भने, ‘भीआईपी सवारीका नाममा बिनागल्ती हाम्रा चिकित्सकलाई कुटपिट गर्नेमाथि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो । हामीले भर्ना भइसकेका बिरामीले सेवा दिने कुरामा अवरोध गर्दैनौँ । उपचाररत बिरामीलाई सेवाबाट वञ्चित गर्नु पनि हुँदैन।’ अध्यक्ष घिमिरेले दोषीलाई कारबाही नभए आफूहरू आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने बताए ।
प्रहरीको कुटपिटबाट टाउको र हातमा चोट लागेपछि डा. सिंहलाई ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको छ । शुक्रबारको घटनाले हामी आवासीय चिकित्सकहरुको सेवा गर्ने मनोबलमा गम्भीर असर परेको डा. घिमिरेले जनाएका छन् ।
Discussion about this post