प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन् ।
छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस आफूहरूले गरेको बताए । उनले कायममुकायम प्रधानन्यायाधीशबाट नै सर्वोच्च अदालत सञ्चलन गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए ।
उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्दा कताकता न्यायपालिकाको साख गिरेको हो की भन्ने कुरा राख्यौँ । करिब १४ महिना यता प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्नुले न्याय सम्पादनमा कठिनाइ भइरहेको कुरा राख्यौँ । संवैधानिक परिषद्को अध्यक्ष भनेकै प्रधानमन्त्री हो, त्यसको नाताले पनि जे प्रयास गर्नुपर्छ, त्यसमा प्रयास गरिरहेको छु भन्नुभएको छ । ठोस निष्कर्षम पुग्ने गरी पहल गरिरहेको भन्नुभएको छ । १० दिनभित्र यो प्रक्रिया सुरु नभए बाध्य भएर आन्दोलनमा जान्छौँ भनेका छौँ । अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने, अटोमेटिक मिसिन सिस्टमबाट हुनुपर्ने भन्ने थियो, त्यो हुन नसकेको कारणले हामीले त्यसको बजेट व्यवस्थापन गर्न पनि आग्रह गरेका छौँ । त्यसमा उहाँ पोजेटिभ हुनुहुन्छ । यो हाम्रो दबाब नै हो, दबाबमूलक भेटघाट हो ।’
जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । घिमिरेका अनुसार प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निष्कर्षम पुग्ने प्रतिबद्धता दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको भन्दै प्रशंसासमेत गरेका थिए । छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए ।
Discussion about this post