जनकपुरधाम। धनुषामा हत्या भएका भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितहरुले जकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरधाम स्थित स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितहरु आज प्रदर्शन गरेका हुन् ।
ट्याक्टरमा शव राखेर उनीहरुले हत्याका योजनाकार मिटरब्याजी शिवजी यादवलाई पक्राउसहितका माग गरेका छन् । उनलाई पक्राउ नगरेसम्म शव नजलाउने अडान मिटरब्याज पीडित संघर्ष समिति छ ।
शवसहित जनकपुरको रामचोक, जाकचोक शिवचोक, भानुचोक हुँदै मिल्स एरियामा पुगेर मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडि पुग्न खोजेका थिए । तर प्रहरीले रोकेपछि उनीहरुले त्यही शव राखेर धर्ना दिएका थिए ।
गृहमन्त्री र धनुषाका एसपीविरुद्ध नाराबाजी गर्दै उनीहरुको राजिनमा समेत मागेका छन् ।
ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकेर शव राखेर सयौंको संख्यामा बुधबार पनि प्रदर्शनमा उत्रिएका थिए । ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छन् ।
हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
Discussion about this post