काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै भोलिदेखि प्रधानमन्त्री निवास बालुवाटारमै धर्ना दिने भएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक हप्तादेखि धर्ना दिईरहेका निर्माण व्यवसायीले माग पुरा नभएको भन्दै प्रधानमन्त्री निवास मै धर्ना दिने सुरु गर्न लागेको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए ।
‘अब हामी भोलिबाट विहान ९ देखि १० बजेसम्म एकघण्टा बालुवाटार मै गएर धर्ना दिनेछौं, माग पुरा नभएसम्म धर्ना रोकिँदैन,’ सिंहले भने । बिमा समितिमा गरिरहेको धर्ना भने महासंघले स्थगित गरेको छ । बिमा निर्देशिका तत्कालको लागि स्थगित गर्ने सहमति भएसँगै बिमा समितिमा धर्ना रोकिएको सिंहले जानकारी दिए ।
व्यवसायीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने लगायत माग राख्दै आन्दालोन गरिरहेका छन् । देशभरीका अतिआवश्यक बाहेक अन्य निर्माण सेवा समेत अवरुद्ध गरेर निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । निर्माण व्यवसायी संघमा साना ठूला गरी १७ हजार व्यवसायीहरु आवद्ध छन् ।
Discussion about this post