सिरहा, मधेश प्रदेश —
पदमोदय फाउन्डेसनले एकै दिन तीन महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ। सामाजिक सेवा र युवा सशक्तीकरणमा सक्रिय यो संस्थाले आगामी मिति २०८२ कार्तिक २६ गते बुधवार बिहान ९ बजेदेखि १२ बजे सम्म श्री रामजानकी प्राविधिक विद्यालय, छजना–२, सुखिपुरमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोका अनुसार सो दिन पदमोदय क्रिकेट नेट बक्सको उद्घाटन, बृक्षारोपण कार्यक्रम, खेलकुदमा सहयोग कार्यक्रम तथा लागुऔषध र दुर्व्यसन न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सञ्चालन गरिनेछ। उनका अनुसार जनस्वास्थ्य, खेलकुद र सामाजिक चेतनाको विकास नै फाउन्डेसनको प्रमुख लक्ष्य हो।
संरक्षक अशोक खड्काको विशेष सहयोगमा आयोजना हुने उक्त कार्यक्रमले स्थानीय युवामा सकारात्मक सोच, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना बढाउने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, समाजसेवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने फाउन्डेसनले जनाएको छ।
विगत दुई वर्षदेखि पदमोदय फाउन्डेसनले विपन्न वर्गका परिवारहरूका लागि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा सहयोगमूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संस्थाले स्थानीय युवालाई सीपमूलक तालिम, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण र आर्थिक रूपमा कमजोर परिवारका बिरामीहरूलाई उपचार तथा औषधि सहयोग प्रदान गर्दै आएको छ।
“हाम्रो हात सधैं तपाईंको साथ” भन्ने नारालाई व्यवहारमा उतार्दै पदमोदय फाउन्डेसनले समुदायमा सहयोग, आशा र सशक्तीकरणको सन्देश फैलाउने अभियान निरन्तर अघि बढाइरहेको छ।








Discussion about this post