
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश प्रतिनिधि सदस्य सुरेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवमाथि कडा प्रहार गरेका छन्। उनले मुख्यमन्त्रीलाई लीलानाथ श्रेष्ठको “झोले” नबन्न चेतावनी दिंदै मधेशको राजनीति केही व्यक्तिहरूको स्वार्थमा बन्धक नबनोस् भन्ने आग्रह गरेका छन्।
सुखिपुर निवासी यादवले एक अन्तर्वार्तामा मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै भने, “चोरवाटो हुँदै पानस होटलमा गएर मुख्यमन्त्री बनेका सरोज यादवले संविधान राम्ररी पढ्नुपर्छ।” उनले आरोप लगाए कि सरोज यादवको नेतृत्वमा मधेशको भावना कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।
यादवका अनुसार देशलाई बर्बाद गर्ने व्यक्ति केपी शर्मा ओली हुन् भने, मधेशलाई बर्बाद गर्ने जिम्मा लीलानाथ श्रेष्ठले लिएका छन्। उनले मधेश इन्चार्जको भूमिकामा लीलानाथ श्रेष्ठले मधेशको आन्दोलन र पहिचानमाथि खेलवाड गरेको आरोप लगाउँदै भने, “मधेशी जनताको बलिदान र संघर्षलाई बेच्ने काम भइरहेको छ, अब जनता जागरूक भएका छन्, कसैले मधेशको भविष्य बेच्न पाउँदैन।”
सुखिपुरमा भएको आगलागी घटनालाई पनि जोड्दै यादवले नगरपालिका प्रमुख रामऔतार यादवमाथि आरोप लगाए। उनले भने, “सुखिपुरमा भएको आगोलागी कुनै सामान्य घटना होइन, त्यसमा प्रत्यक्ष राजनीतिक स्वार्थ जोडिएको छ, त्यसको मुख्य जिम्मेवार नगरपालिका प्रमुख नै हुन्।”
राजनीतिक रूपमा पनि उनले एमालेमाथि तीखा प्रहार गर्दै ठोकुवा गरे, “अब एमाले मधेशबाट मात्र होइन, देशभरबाट समाप्त हुनेछ। जनताको चेतना जागिसकेको छ, कपट र षड्यन्त्रका राजनीति अब टिक्नेवाला छैन।”
यादवले मधेशमा निरन्तर भइरहेको सत्ता–स्वार्थको खेल र बाह्य हस्तक्षेपमाथि पनि चिन्ता व्यक्त गरे। उनले भने, “मधेशका नेताहरूले मधेशका जनताको आशा र पीडा बुझ्नुपर्ने बेला आएको छ। हामी लड्यौं, बलिदान दियौं, तर आज पनि त्यही घेराबन्दी र हुलाम्बाजी दोहोरिएको छ। यो रोक्न सबै सचेत मधेशीले भूमिका खेल्नुपर्छ।”
सुरेन्द्र यादवले अन्त्यमा मुख्यमन्त्री सरोज यादवलाई पुनः चेतावनी दिंदै भने, “संविधान पढ्नुस्, मधेशका जनताको मर्म बुझ्नुस्, र लीलानाथ श्रेष्ठको झोले नबनिनुस्। यदि त्यस्तो गल्ती दोहोरिन गयो भने जनता स्वयं त्यसको हिसाब लिनेछन्।”
उनको अनुसार मधेशको राजनीति अब वैचारिक र इमानदार नेतृत्वतिर मोडिनुपर्छ, अन्यथा मधेश मात्र होइन, देशकै राजनीतिक सन्तुलन गम्भीर संकटमा पर्ने खतरा छ।








Discussion about this post