हत्या मुद्दामा फरार अभियुक्त गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलको सम्पत्ति रोक्का
हत्या मुद्दामा फरार अभियुक्त बनेका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलको सम्पत्ति रोक्का भएको छ । शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीले सम्पत्ति रोक्का गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट शुक्रबार आएको पत्रअनुसार गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष)समेतकाे रोक्का भएको भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका प्रमुख किशोर रामले बताए। उनले भने, ‘प्रहरी कार्यालयबाट पत्र प्राप्त भएको छ त्यहीअन्तर्गत गाउँपालिका अध्यक्ष मण्डल र उनका बुबाको सम्पत्ति रोक्का भएको हो अन्य पाँचजनाको पनि सम्पत्ति खोजी हुँदै छ। उनीहरू पनि सम्पत्ति रोक्का हुन्छ। ’
गाउँपालिका अध्यक्षसहित सातजनाको सम्पत्ति रोक्का गर्न सप्तरी प्रहरीले ७९ सालमै तत्कालीन जिल्ला मालपोत कार्यालय सप्तरीलाई पत्रचार गरेको थियो। तर, भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीले सम्पत्ति रोक्का नगरेको पाइएको थियो । २५ जेठ ०७९ मा जिल्ला प्रहरी कार्यालय सप्तरीका तत्कालीन प्रहरी निरीक्षक भानु खड्काले सम्पत्ति रोक्का राख्न पत्रचार गरेका थिए।
०५५ मा सप्तरीको रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या मुद्दामा फरार सातजनामध्येका उनी पनि एक हुन् । एमालेबाट निर्वाचित मण्डल साढे तीन वर्षदेखि गाउँपालिका अध्यक्ष छन् । मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा चलेको मुद्दा जिल्ला अदालत सप्तरीले मुल्तबीमा राखेको छ । पक्राउ पुर्जी जारी हुँदा पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।








Discussion about this post