अविनाश चौधरी-
धनगढी, असार २ गते । कैलालीको भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने तयारी गरिदैंछ ।
अढाई वर्ष निर्माण समायवधि रहेको पुल ११ वर्षसम्म पनि नबनेपछि हुलाकी राजमार्ग आयोजनाको कार्यालयले निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको हो ।पटक–पटक म्याद थप गर्दा पनि पुल अधुरै रहेको छ । कम्पनीलाई कालोसूचीमा पनि राखिने आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
‘अब पुरानो निर्माण कम्पनीसंग ठेक्का तोडेर बाँकी काम पूरा गर्नको लागि अर्को ठेक्का गर्नुको विकल्पै छैन’, हुलाकी राजमार्ग आयोजना धनगढीका सूचना अधिकारी इन्जिनीयर पदम मडैले भन्नुभयो । ‘पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम गरेन । ठेक्का सम्झौता तोड्नका लागि आवश्यक कागजात तयार पारिरहेका छौं ।’
२०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो । साल्पा(शेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएका थिए । जसमध्ये साल्पा(शेर्पा ९हाल परिवर्तित नाम हिमाली जेभी० ले काम गर्दै आएको थियो । तर, कम्पनीले तदारुकताका साथ निर्माणको काम नगर्दा चार चोटीसम्म म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन सकेन ।
ठेक्का भएपछि पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो ।
साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटक थप भएको म्याद भने गएको चैत मसान्तमा सकिएको छ । चार करोड ४३ लाख रुपियाँ पुलको लागत रहेको थियो । आयोजना कार्यालयका अनुसार ७५ प्रतिशत काम पूरा भइसकेको छ । एक स्पाम, दायाँबायाँ बाटो र एकतिर ग्याबिन लगाउनमात्रै बाँकी छ । तर, निर्माण कार्य ठप्प छ ।
अब बर्खा लाग्न लागेकाले यो वर्ष पनि कान्द्रा पुल अधुरै रहने इन्जिनीयर मडैले बताउनुभयो । उहाँका अनुसार पुरानो कम्पनीसंग ठेक्का सम्झौता तोडेर नयाँ ठेक्का प्रक्रियामा जाँदा थप केही समय लाग्नेछ ।
कान्द्रा नदीमा पुल नहुँदा भजनी नगरपालिकावासीसहित सो आसपासका गाउँका स्थानीयलाई ओहोरदोहोर गर्न कठिन हुँदै आएको छ । बर्खामा उनीहरुले जोखिम मोलेर डुङ्गामार्फत नदीमा ओहोरदोहोर गर्ने गरेका छन् । यो वर्ष पनि पुलमा हिड्ने वर्षौदेखिको स्थानीयवासीको सपना साकार हुन सकेन ।
हुलाकी राजमार्ग अन्तर्गतको सो पुल नबनेका कारण धनगढी–भजनी–सत्तीसम्म सवारी साधन सञ्चालनमा समस्या रहेको छ । आयोजनाका अनुसार हुलाकी राजमार्ग अन्तर्गत बाँकी सबै पुल बनिसकेका छन् । ‘त्यहि कान्द्राको पुलमात्रै बन्न बाँकी हो’, सूचना अधिकारी मडैले भन्नुभयो । ‘बाँकी अरु सबै पुल बनिसकेका छन् । कान्द्रा पुल अहिलेसम्म नबन्दा हामीलाई पनि समस्या परेको छ ।’
लामो समयसम्म पुल नबन्दा भजनी नगरपालिकावासी आक्रोसित भएका छन् । सो नगरपालिकाका नगर प्रमुख केवल चौधरीले पुल निर्माण कार्य पूरा गर्नका लागि घचघच्याउँदै आएको बताउनुभयो । उहाँले सङ्घीय राजधानीमासमेत डेलिगेशनसमेत जाने उल्लेख गर्नुभयो ।
निर्माणाधीन कान्द्रा नदी पुल निरीक्षण गर्दै भजनी नगरपालिकाका जनप्रतिनिधि । तस्बिर : यज्ञराज जैशी
Discussion about this post