काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक संसदमा अगाडि बढाउने प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनको बुधबार अपराह्न बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले विधेयक अगाडि बढाउन प्रस्ताव गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल भएको र विधेयक अगाडि बढाउन अग्रसरता लिने निर्णय भएको उनले बताए।
‘प्रधानमन्त्रीज्यूले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘हाम्रो समाजमा बुबा र आमा नागरिक र सन्तान अनागरिकको अवस्था छ। यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ।’
बैठकमा शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुर्याउनका निम्ति पनि छलफल केन्द्रित भएको मन्त्री कार्कीले जानकारी दिए। ‘कानुन मन्त्रीले शान्ति प्रक्रियाको काममा अहिलेसम्म प्रगति विवरण समीक्षाका साथ बैठकमा प्रस्तुत गर्नुभयो,’ उनले भने।
समग्रमा नागरिकता विधेयक अगाडि बढाउने र शान्ति पक्रियालाई चाँडै नै निष्कर्षमा पुर्याउने बारेमा छलफल भएको मन्त्री कार्कीले बताए। उनका अनुसार बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण भएको थियो।
Discussion about this post