काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य अति स्वेच्छारी भएको आरोप लगाएका छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले राज्यका अंगहरु कब्जा गरेर स्वेच्छाचारी लादिएको आरोप लगाएका हुन्।
‘महान्यायाधिवक्ताले उधुम मच्चाउनुभयो। फोन गरेर यो गर त्यो गर भन्नुभयो। बुढीगण्डकीमा यस्तो प्रेसर गरियो कि फेरि निर्वाचन गर्नुपर्ने अवस्था आयो। निर्वाचनमा देशभरी प्रहरी कसरी परिचालन गरियो? थाहै छ,’ उनले भने।
अछाममा २६ वर्षीय विनोद शाहीको हत्या गरिएको र अपराधी नछुटोस् भनेर पीडित परिवारले खबरदारी गर्दा लाठी चार्ज र तीव्र दमन गरिएको ओलीको भनाइ थियो। ‘टीयू प्राध्यापकमाथि हमला गर्ने, अंगभंग गर्नेलाई छुटाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘न्याय नपाउने अवस्था अहिले देशमा देखिएको छ।’
अध्यक्ष ओलीले विकास निर्माणमा देश निरन्तर अधोगतितर्फ गएको आरोप लगाए। ‘विगार्ने बाहेक केही काम भएको छैन। राज्यको स्थायित्व र सबै अंगमा हमला भएको छ। संसदका मर्यादाहरु उल्लंघन गरिएको छ। भंग भएको छ। राज्य यति स्वेच्छाचारी भयो कि विरोधीमाथि कुनै कानुनबिना दमन गरिएको छ। बजेटमा बिचौलिया राखेर विरोध गर्दा थर्काउने? दुनियाँले आवाज उठाएको फुटेज मेटियो कसरी न्याय हुन्छ? यो भन्दा बलमिच्याइँ के हुन्छ?’ ओलीले प्रश्न गरे।
वर्तमान सरकारले नेपाल प्रहरीमा वेथिति बढाएको ओलीले आरोप लगाए। ‘तथाकथित मूल्यांकन गरिएको छ। कुनै आधार छैन। पछाडिबाट मान्छे ल्याइएको छ। प्रहरी प्रशासनमा आफ्ना मान्छे राखेको छ। यति हुँदा कोही पनि लज्जाबोध गर्दैछ। मन्त्री, संवैधानिक निकायको मान्छे र महान्यायाधिवक्तामा कोही बोध छैन। खुलेयाम छ,’ उनले भने।
महंगी र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दा युवा विद्यार्थीहरुमाथि कुटपिट र दमन भएको भन्दै ओलीले राज्यले दमनकारी नीति लादेको आरोप लगाए।