काठमाडौं। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्।
सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन्। उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए।
अब पुस २ गते दोस्रो चरणको वार्ता गर्ने सहमति भएको बताइएको छ। प्रसाईंले आफूले अघि सारेका मागबारे बुँदागत रुपमा प्रस्तुति दिएका थिए। त्यसपछि प्रधानमन्त्रीले जवाफ दिएकी थिइन्।
सो क्रममा प्रसाईंले सरकारबाट आफ्ना माग पूरा भएको खण्डमा सरकारका लागि छाति थाप्न तयार रहेको बताएका छन्। सरकारले भने उनका मागहरूको अध्ययनका लागि समय माग गरेको छ।
२०६२-०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताए। सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने पनि बताए।
दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि थिए। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेका थिए।
अभियानका नेता प्रसाईँले सम्माननीय प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरे र भने, ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रुप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’
प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद दिएका थिए। शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे।
‘यसअघिका सरकारहरु हाम्रा माग सुन्नै चाहेनन्। यही कारण दुर्घटना भयो। कमसे कम यो सरकार सुन्न तयार भयो। प्रधानमन्त्रीको टेबुलमै आएर हाम्रा माग राख्न पायौँ। यसका लागि माननीय गृहमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ प्रसाईँले आफ्ना माग पूरा भए देशभरि खुसियाली छाउने र कोही पनि सडकमा आउनु नपर्ने दाबी गरे।
प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन्। प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो। तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर हेर्नुपर्ने उनको धारणा थियो।









Discussion about this post