विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित लोहोन्द्रा खोलाबाट लोहोन्द्रा–हैँरेसी पैनी लगिएको छ। स्थानीय यसलाई सरकारी पैनी पनि भन्छन्।
पैनीको पानीले बर्सेनि चार हजार पाँच सय बिघाभन्दा बढी खेतीयोग्य जमिन सिँचाई हुँदै आएको स्थानीय बताउँछन्। सुन्दरहरैँचा–१ सहित ग्रामथान गाउँपालिका–४, ६ र ७ नम्बर वडाको उत्तर–पश्चिमतर्फको अधिकांश जमिनमा सिँचाई सुविधा पुगेको थियो। खेतीका लागि यो पैनीको विकल्प नभएको सुन्दरहरैँचा–१ का इन्द्र भट्टराई बताउँछन्। तर यसवर्ष रोपाइँ गर्ने बेला पैनीमा पानी नै चढेन। ‘खोला १५ फिटभन्दा बढी गहिरिएर गएको छ,’ भट्टराईले भने, ‘धान रोप्न पानी नभएर किसानले ठूलो समस्या झेल्नु परेको छ।’
पैनीबाट खोलाको सतह गहिरिएर गएको र पैनीबाट पानी लगेर सिँचाई गर्न नपाउँदा धान रोपाइँ नै प्रभावित बनेको उनले बताए। बर्खाका बेला लामो समयदेखि खडेरी परेको छ। आकाशबाट पानी नपरेको धेरै भयो। खोला गहिरिएका कारण पैनीमा पानी नचढ्दा सिँचाई सुविधा नभएर रोपाइँ गर्न नपाउँदा खेत बाँझै बस्ने अवस्था रहेको गुनासो उनको छ।
लोहोन्द्रा खोलाबाटै लोहोन्द्रा–कोरियाडाँगी पैनी पनि सञ्चालनमा छ। ग्रामथान–६ र ७ को दक्षिण–पूर्वतर्फको सात सय बिघाभन्दा बढी जमिनलाई सिँचाई सुविधा पुर्याउँदै आएको यो पैनी पनि यसवर्ष चलेन। ‘खोलाभन्दा खेत भएको जमिन उच्च बनेको छ। खोला गहिरिएर गएपछि पैनीबाट पानी ल्याउन सकिएन,’ स्थानीय गणेशप्रसाद चापागाईं भन्छन्, ‘पैनी नचलेपछि धान रोप्न पाइएन। पानीको अभाव हुँदा रोपाइँ गर्न नपाएर कृषक प्रभावित बनेका छन्।’
ग्रामथान–७ का खेम घिमिरे सोमबार यही पैनी मर्मत गर्दै गरेको अवस्थामा भेटिए। पानी लैजान नसकेपछि खेती प्रभावित हुँदा सबै गाउँले पैनीको मर्मतमा जुटेको उनले बताए। सामान्य मर्मत गरेर चलाइएको पैनी दुई साताअघिको बाढीले बगाइदियो। झन् खोलो गहिरिएपछि पानी लैजाने अवस्था नभएको घिमिरेले बताए।
लोहोन्द्रा–किस्ती पैनीले पनि सात सय बिघाभन्दा बढी जमिन सिँचित हुन्थ्यो। ‘यसअघि पैनीबाट सहजै पानी जान्थ्यो। आकाशबाट पानी नपरे पनि खेती गर्न समस्या थिएन। पटकपटक नगरपालिकासँग जेसीबी मागेर पैनी मर्मत गरे पनि अहिले पानी खेतसम्म पुर्याउन सकिएको छैन,’ सुन्दरहरैँचा–१ का हरि दाहालले भने, ‘यसअघि पैनीभन्दा खोलाको भाग उच्च थियो। खेतीका लागि पानी पर्याप्त हुन्थ्यो। यसवर्ष न आकाशबाट पानी पर्छ, न त पैनीबाट पानी नै लैजान सकिएको छ।’
बर्सेनि सयौँ बिघा खेती सिँचित हुने पैनीहरु यसवर्ष नचलेपछि किसान मर्कामा परेका छन्। ‘आकाशबाट पानी पर्दैन। खोलो गहिरिएर गएपछि पैनी पनि चलाउन सकिएन,’ स्थानीय चन्द्र न्यौपानेले भने, ‘केही व्यक्तिसँगको मिलेमतोमा खोलामाथि चरम दोहन हुँदा कृषिमा निर्भर रहेकाहरु मर्कामा परेका छन्। दोहनका कारण खोलो १५ फिटभन्दा बढी गहिरिएर जाँदा कृषियोग्य जमिन मरुभूमिकरण हुने अवस्था छ।’ उनका अनुसार जेसीबी, एक्साभेटर लगायतका ठूला औजार (मेसिन) खोलामा हालेर अवैध तरिकाले उत्खनन गर्दा यो अवस्था आएको हो।
‘खोला गहिरिएपछि पानीको स्रोत नाश भयो। कलबाट पानी आउन छाड्यो। खेती गर्न मात्रै हैन, खानलाई नै पानीको अभाव हुन थाल्यो,’ न्यौपानेले भन्छन्, ‘सम्बन्धित निकायसँगको मिलेमतोमा केही व्यक्तिले अनियन्त्रित खोला दोहन गरिदिँदा किसानको बाँच्ने आधार नै हराएको छ। सयौँ बिघा जमिन बाँझै रहने अवस्था आयो।’ यसअघि लामो समयसम्म खोलामा ठूला औजार हालेर उत्खनन गरिएको स्थानीय प्रकाश घिमिरे बताउँछन्।
‘खोलामा जेसीबी र एक्साभेटर हालेर उत्खनन गर्न पाइँदैन भनेर हामीले विरोध गर्यौँ। तर प्रहरी लगाएर स्थानीयलाई धम्क्याउँदै खोला खन्ने काम भयो,’ उनले भने, ‘स्थानीय निकाय र प्रशासनसमेतको मिलेमतोमा केही व्यक्तिले ठुल्ठूला खाल्डा बनाएर उत्खनन गर्दै नदीजन्य पदार्थ निकाले। त्यसको असर र प्रभाव अहिले हामी भोग्दै छौँ।’ उत्खननपछि खोला गहिरिएर गएको र पैनीमा पानी नचल्दा खेत नै बाँझै बस्ने अवस्था आउँदा सर्वसाधारण किसान पीडामा परेको घिमिरे बताउँछन्।
पानी अभावले रोपाइँ गर्न नपाउँदा र खेत बाँझै छाड्नुपर्दा कृषिमा निर्भर रहेकाहरु पीडामा परेको घिमिरेको भनाइ छ। ‘आर्थिक अवस्था कमजोर भएका किसान खेतीमा निर्भर थिए,’ उनी भन्छन्, ‘खेत नै रोप्न नपाएपछि बाँच्ने कसरी हो भन्ने चिन्ताले पिरोलेको छ।’ उनका अनुसार स्थानीयले अहिले कलबाट निकालेर पानी खान पाउने अवस्था छैन। खेत रोप्न नपाएपछि यसवर्ष भोकमरीको समस्या निम्तिने अवस्था छ।
आर्थिक वर्ष २०७८÷०७९ का लागि सुन्दरहरैँचा नगरपालिकाले लोहन्द्रा, गछिया, खदम र बूढी खोला ठेक्का लगाएको थियो। आईई (वातावरणीय प्रभाव मूल्यांकन) गरेर असोज १ गतेदेखि जेठ मसान्तसम्मका लागि मनन कन्सट्रक्सन प्रालिलाई खोलाको ठेक्का दिइएको थियो। ६८ लाख घनफिट मात्रै उत्खनन् गर्न पाउने गरी भ्याटबाहेक छ करोड १८ लाख रूपैयाँमा ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले मनपरी ढंगले दोहन गरेको नगरपालिकाका एक प्राविधिक बताउँछन्।
‘आईई प्रतिवेदनअनुसार खोलामा मेसिन नहालिकन नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा) निकाल्ने भनेर ठेक्का दिइएको हो। तर प्रतिवेदनको प्रतिकूल हुने गरी अवैध तरिकाले खोलामा मेसिन छिराएर जथभावी उत्खनन गरियो,’ उनले भने, ‘कति उत्खनन गरियो भन्ने त लेखाजोखा नै छैन। नगरपालिकाले पनि अनुगमन नगरिकन ठेकेदार कम्पनीलाई रजाइँ गर्न छाडिदियो।’ मेसिनको प्रयोगले खोलाको अवस्था वैरागलाग्दो बनेको र अहिले पानीको स्रोत सुक्ने तथा पैनीमा पानी नआउने समस्या निम्तिएको ती प्राविधिकको भनाइ छ।
त्यतिबेला स्थानीयले मेसिन हालेर खोलामा चरम दोहन गरिएको भन्दै नगरपालिकामा उजुरी पनि दिएका थिए। तर सुनुवाइ भएन। बस्ती प्रवेश गर्ने र विनाश गर्ने निस्कर्षसहित धार परिवर्तन गरेको लोहोन्द्रा खोलालाई च्यानलाइज गरेर पहिलेकै अवस्थामा फर्काउने भनेर नगरपालिकाको कार्यपालिकाबाट गत मंसिरमा निर्णय भएपछि ठेकेदारले खोलालाई आफ्नो नियन्त्रणमै लिएर उधुम मच्चाएको ती प्राविधिक बताउँछन्।
‘मेसिन प्रयोग गरी खोलालाई च्यानलाइज गर्ने भनेर निर्णय भयो। त्यसको फाइदा उठाउँदै कानुनी आधार बिनानै मापदण्डविपरीत ठेकेदारले मेसिन हालेर नदीजन्य पदार्थ उत्खनन गर्न थाले,’ उनले भने, ‘न नगरपालिकाले रोक्यो। न त कारबाही गर्यो।’ खोला च्यानलाइजका नाममा मेसिन प्रयोग गरेर अवैध उत्खननका लागि ठेकेदारलाई सजिलो बनाइदिने काम भएको उनले बताए।
खोला च्यानलाइजको जिम्मा पनि मनन कन्सट्रक्सन प्रालिले नै पाएको थियो। तर धन्दा भने अर्कै चल्यो। प्रालिले अवैध उत्खनन गरेर नदीजन्य पदार्थ खोलाछेउमै भण्डार गरेको थियो। खोलानजिक स्टक राखेको नदीजन्य पदार्थको ठूलाठूला थुप्रा अहिले पनि देख्न सकिन्छ। ‘धेरै त त्यतिबेलै लगिसके। केही चैँ खोलानजिक स्टक गरेर राखे। तर स्टक प्रमाणित गराएका थिएनन्,’ ती प्राविधिक भन्छन्, ‘अवैध स्टक प्रमाणित गर्न र स्वीकृति लिनका लागि दौडधूप गरिरहेका छन्। आईई प्रतिवेदन अनुसारको परिणाम निकालेर मात्रै स्टक राख्न पाइन्छ। त्यसको प्रतिकूल हुने गरी काम गरेर स्टक प्रमाणितको माग गरिएको छ।’
उनका अनुसार ठेकेदार शारदाप्रसाद ढकालले उत्खनन गरेको मध्ये धेरैजसो बालुवा र गिट्टी बिक्री गरिसकेका छन्। काम सकिएको भनेर त्यसको बिल नगरपालिकालाई पेश पनि गरेका छन्। अहिले सोधीखोजी हुन थालेपछि अवैध स्टकलाई वैध देखाउने प्रयास ढकालले गरिरहेको उनले बताए।
ठेकेदार ढकालले भने स्थानीय निर्वाचन लगायतका कारणले नगरपालिकाले नभ्याएका कारण अहिले स्टक प्रमाणित गराउन खोजिएको दाबी गरे। ‘वडाको सिफारिस र नगरपालिकाको बोर्ड बैठकको निर्णय अनुसार खोलामा मेसिन हालेरै उत्खनन गरिएको हो। काम गर्दा नगरपालिकाको सबै मापदण्ड पूरा गरिएको छ,’ उनले भने, ‘उत्खननका समयमा कतिपयले बार्गेनिङ गरेका थिए। हामीले नसुनेपछि अहिले विरोध गरेर विभिन्न आरोप लगाउन थालेका छन्।’ नगरपालिकासँगको सम्झौताभन्दा बाहिर गएर काम नगरेको ढकाल बताउँछन्।
‘नगरपालिकाले खोलामा मेसिन हाल्ने भनेर निर्णय गरेको छ। निर्णय र मापदण्डविपरीत काम गरेको छैन,’ उनले भने, ‘नगरपालिकाकै प्रत्यक्ष निगरानीमा काम गरेको हो। गलत गरेको भए त्यतिबेलै रोकेर कारबाही गर्नुपर्ने हो। जेठ मसान्तमै ठेक्काको समय सकिएको अवस्थामा अहिले आएर अवैध भन्न पाइन्छ ?’
नगरपालिकाले भने मापदण्डविपरीत उत्खनन गरेर स्टक राखिएको नदीजन्य पदार्थ जफत गर्ने तयारी गरेको छ। ठेकेदारलाई कारबाहीको प्रक्रिया पनि अघि बढाइने मेयर केदारप्रसाद गुरागाईंले बताए। ‘खोलामा मेसिन हालेर मापदण्डविपरीत उत्खनन गरेको पाइयो। नदीजन्य पदार्थ भण्डार गरेर स्टक प्रमाणित पनि नगरेको पुष्टि भयो,’ उनले भने, ‘उत्खनन गरेर एकै ठाउँबाट २० करोडभन्दा बढीको नदीजन्य पदार्थ लगेको खुलेको छ। त्यसको प्रभावले पैनीमा पानी नचढ्दा अहिले कृषकले खेत रोप्न पाएका छैनन्।’
गुरागाईंले विगतमा आह्वान गरिएको टेण्डरको प्रक्रियादेखि लिएर सबै विषयको अध्ययन गर्दै मिलेमतोमा खोला दोहन गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने बताए। नगरपालिकाको यसअघिको टिप्पणी र आदेश सम्बन्धी फायल अध्ययन गर्दै अनियन्त्रित दोहन गर्नेलाई नछाडिने प्रतिवद्धता उनले जनाएका छन्।
नगरपालिकाका इन्जिनियर सुनील अधिकारी र वीरेन्द्र नियोहाङले खोला उत्खनन सम्बन्धी कुनै पनि प्रक्रियामा आफूहरु सामेल नभएको बताए। ‘उत्खनन गर्न दिनुअघि वातावरणीय अध्ययन भयो कि भएन भन्ने थाहा छैन। हामीलाई त्यो काममा खटाइएन पनि,’ उनीहरुले भने, ‘तर मेसिन प्रयोग गरेर खोला उत्खनन गर्न पाउने व्यवस्था छैन। त्यतिबेलै नगरपालिकाले अनुगमन गरेर कारबाहीको दायरामा ल्याउनुपर्नेमा त्यसो गरेन।’
Discussion about this post