काठमाडौं, १२ साउन। वैदेशिक रोजगारीमा पुगेर ज्यान गुमाउने नेपालीको संख्या झन्–झन् बढ्दै गएको छ । बितेको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा झण्डै १५ सय नेपालीले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डको सचिवालयकाअनुसार एक वर्षमा १ हजार ४७९ जना मृतकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा ४६ जना महिला छन् भने १ हजार ४३३ जना पुरुष छन् । मृत्यु हुनेको संख्या आर्थिक वर्ष २०७७/७८ मा १ हजार २४२ जना थियो ।
२०७६/७७ मा औसतमा दैनिक ३ जना श्रमिकको विदेशमा मृत्यु हुने गरेकोमा यो वर्ष बढेर औसत ४ जनामा पुगेको तथ्यांकमा देखिन्छ । बोर्डका अनुसार एक वर्षमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत ८३ करोड ६० लाख रुपैयाँ दिइएको छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष १ हजारको हाराहारीमा मात्रै श्रमिकको मृत्यु भएको दाबी गर्छन् । पुरानो दाबी सेमत आएकाले संख्या १५ सयको हाराहारीमा पुगेको उनको भनाइ छ ।
‘अनलाइनबाट आवेदन दिन सकिने र स्थानीय तहबाट पैसा बुझ्न सकिने भएपछि क्षतिपूर्तिका लागि पहिला दावी नगरेका मृतकका परिवारहरु पनि आउनुभएकाले संख्या बढेको देखिएको हो’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा दैनिकजसो नेपाली श्रमिकका शव ल्याइने गरेको छ । जीविका सुधार्ने सपना लिएर विदेश उडेका युवामध्ये कोही बाकसमा सिंगै त कोहीको अस्तुका रुपमा मात्र फर्किनुपरिरहेको छ । कतिपय श्रमिकका परिवारले विदेशमै दाह संस्कारका लागि अनुमति दिंदा अस्तु मात्रै ल्याउने गरिएको हो ।
भयावह बन्दै समस्या
विदेशमा मृत्युवरण गर्ने नेपालीश् श्रमिकहरुको संख्या बढिरहे पनि सरकार भने संवेदनशील बनिरहेको छैन । यसअघि पनि वर्षैपिच्छे एक हजारभन्दा बढी नेपाली श्रमिक र उनीहरुका परिवारले यस्तै वियोगान्त भोगिरहेका थिए ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा एक हजार ६ जनाको विदेशमा मृत्यु भएको थियो, आर्थिक वर्ष २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, आर्थिक वर्ष २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ जना मृतक श्रमिकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका थिए । आर्थिक वर्ष २०७७/७८ मा १ हजार २४२ पुगेको संख्या अहिले करिब १५ सय नजिक पुगेको हो । यसमा अवैध रुपमा विदेशमा काम गर्न गएर मृत्यु भएका श्रमिकको संख्या संलग्न छैन ।
सचिवालयको तथ्यांकअनुसार, विदेशमा ‘कार्डियाक अरेस्ट’ (एक्कासी हुने हृदयघात) बाट मृत्यु हुनेको संख्या ठूलो छ । यीमध्ये धेरैजसोले निदाएको बेला ज्यान गुमाएका छन् । प्रतिकूल आहार–बिहार, लगातार लामो सयम काम, धुम्रपान–मद्यपान तथा चर्को गर्मीमा कडा श्रम गरेर फर्किएर एसी लगाएर सुत्ने लगायत कारण कार्डियाक अरेष्ट हुने गरेको छ ।
श्रमिकले आत्महत्या पनि गर्ने छन् । परिवारसँगको किचलो, कार्यस्थलमा हुने शारीरिक–मानसिक दबाब, आर्थिक शोषण, विभिन्न कारणले हुने डिप्रेसन, ऋणलगायतका पीरले श्रमिकहरु विदेशमै आत्महत्या गरेको देखिन्छ ।
सडक दुर्घटनामा परेर बित्नेको संख्या पनि ठूलो छ । कार्यस्थलमा आउँदा–जाँदा, किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा ट्राफिक नियमको जानकारी नहुँदाको सावधानीले दुर्घटनामा परेर ज्यान गइरहेको छ ।
कार्यस्थलमा हुने दुर्घटनामा ज्यान गुमाउनेको संख्या सानो छैन । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, जोखिमयुक्त काममा पर्याप्त सावधानी नअपनाउने आदी कारणले कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन् ।
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ विदेशमा श्रमिकहरुको मृत्यु घटाउन बोर्डले विभिन्न प्रयास गरिरहेको दाबी गर्छन् । तर, महामारीका कारण ज्यान गुमाउने श्रमिकको संख्या घट्न नसकेको उनको दाबी छ ।
उनका अनुसार अब श्रमिकहरुलाई मानसिक र शारीरिक स्वास्थ्य सेवा दिने गरी बोर्डले ‘टेलिमेडिसिन सेवा’ सुरु गर्ने योजना बनाएको छ । त्यसैगरी श्रमिकको स्वास्थ्य बीमासहित सामाजिक सुरक्षामा रोजगारदातालाई नै जिम्मेवार बनाउने गरी विभिन्न देशसँग श्रम समझदारी हुन लागेको छ । ‘अब विदेश जाने श्रमिकलाई देशअनुसार छुट्टा–छुट्टै पाठ्यक्रम तयार गरेर अभिमुखीकरण दिने व्यवस्था गर्दैछौ.,’ उनले भने,‘यसले मृत्यु घटाउन सघाउँछ ।’
Discussion about this post