ताल जस्तै गहिरा आँखा, अनुहारमा एक अद्भुत प्रकाश । यति सुन्दर थिइन् कि उनलाई हिन्दी सिनेमाको ‘गडेस अफ मून’ चन्द्रमाकी देवी भनिन्थ्यो । उनी थिइन् वनमाला देवी । उनको वास्तविक नाम सुशीला पनवार थियो । उनको जीवन आफैँमा फिल्मभन्दा कम थिएन । बाल्यकाल जति विलासिताले भरिपूर्ण थियो, युवावस्था पनि उत्तिकै चुनौतीपूर्ण थियो । र, चुनौती कुनै बाहिरी व्यक्तिको थिएन, उनका आफ्नै पिता नै थिए । बाल्यकाल राजपरिवारमा बित्यो, युवावस्था हिन्दी सिनेमामा र त्यसपछि बाँकी जीवन सन्यासमा ।
वनमाला देवी आफ्नो समयको सबैभन्दा शिक्षित अभिनेत्री थिइन्, जसले डबल एमए गरेकी थिइन् । बुबा ग्वालियरको सिन्धिया शाही परिवारसँग नजिक थिए, त्यसैले उनले बाल्यकालदेखि नै शाही परिवारमा जस्तै सुविधाहरू पाइन् । पढाई सकेर उनी फिल्ममा आइन् र यहिँबाट उनको जीवनले नयाँ मोड लियो । बुबा कठोर स्वभावका थिए, उनी छोरी विरुद्ध लागे र परिवारबाट निकालिदिए । उनको फिल्म ग्वालियरमा प्रतिबन्ध लगाइयो र उनलाई त्यहाँ आउन पनि प्रतिबन्ध लगाइयो । उनका पिताले आफ्नी छोरीलाई यति घृणा गर्दथे कि उनले पहिलो पटक वनमालालाई हलको पर्दामा देखे, गोली चलाए । पिताका लागि उनले फिल्म छोडिदिइन् तर सांसारिक मोह पनि त्यागिन् ।
आज तिनै वनमालाको जीवनका आरोह अवरोहबारे थाहा पाऔँ जसको बाल्यकाल महलमा बित्यो, जवानी फिल्ममा र बाँकी जीवन वृन्दावनमा ।
विलासी बाल्यकाल, राजपरिवारसँग सम्बन्ध र चर्चित स्कुलमा पढाई
ग्लालियको राज परिवारसँग सम्बन्ध थियो
सुशीला देवीको जन्म २३ मे १९१५ मा उज्जैन, मध्य प्रदेशमा चार बहिनी, दुई दाजुभाइ बीच भएको थियो, उनलाई पछि वनमाला देवी भनेर पहिचान मिल्यो । उनका बुबा कर्णेल रायबहादुर बापुराव आनन्दराव पन्वार ब्रिटिश शासन अन्तर्गत मालवा जिल्ला र शिवपुरीको कलेक्टर थिए । जब बुबाको सरुवा भयो, सम्पूर्ण परिवार उज्जैनबाट ग्वालियर गए । उनी ग्वालियरको शाही परिवारको नजिक थिए, जीवन विलासिताले भरिएको थियो ।
बुबाले वनमालालाई सहरको प्रसिद्ध सरदार डटर्स विद्यालय (द सिन्धिया स्कूल) मा भर्ना गरिदिए । यहाँ उनले घोडसवारी, स्विमिङ, सुटिङ, पोलो र फेन्सिङको प्रशिक्षण पनि लिइन् । वास्तवमा, यो सहरको सबैभन्दा ठूलो विद्यालय थियो, जहाँ शाही परिवारका अधिकांश बालबालिकाले अध्ययन गर्थे । उनका पिता स्वतन्त्रता पछि ग्लालियरका राज स्व. माधवराज सिन्धियाले बनाएको ट्रस्टका सदस्य पनि थिए ।
वनमालाले ग्लालियरको भिक्टोरिया कलेजबाटै बिएको पढाई पूरा गरिन् । उनी यो कलेजकी पहिलो बीए विद्यार्थी थिइन् ।
आमाको मृत्युपछि पढाइ अधुरो रह्यो
मुम्बई गएर एमएमा भर्ना भइन् । सन् १९३५ मा उनकी आमा सीता देवीको निधन भएपछि उनले आफ्नो पढाइ बीचमै छोडेर ग्वालियर फर्किन् । घरमा आमाको अभाव महसुस हुन थालेपछि वनमाला आफ्नी सानी आमासँग पुणे गइन् ।
उनकी सानीआमा पुणेको अगरकर हाई स्कूलकी प्रिन्सिपल थिइन्, जसलाई मराठी थिएटरका प्रख्यात कलाकार आचार्य अत्रेले सुरु गरेका थिए । समय बिताउन वनमालाले पनि यही विद्यालयमा पढाउन थालिन् ।
वनमाला त्यो जमानामा डबल एम.ए गर्ने पहिलो महिला थिइन् ।
मराठी कलाकार आचार्य अत्रेको विद्यालयमा त्यतिबेला सिनेमासँग जोडिएका थुप्रै हस्तीको आउजाऊ थियो । वनमालाको सुन्दरताको चर्चा पहिला नै पूरा कलेजमा हुने गर्दथ्यो । दिग्गज चलचित्र निर्माता बाबुराव पेन्ढारकर, मास्टर विनायक र वी. शान्ताराम पनि विद्यालय गइरहन्थे । यी सबैले वनमालालाई विद्यालयमा कुनै न कुनै बेला देखेका थिए ।
कतिपय चलचित्रकर्मीले उनलाई आफ्नो सहायक पनि बनाउन चाहेका थिए तर वनमालाले हरेक पटक अस्वीकार गरिन् । वास्तवमा त्यतिबेला महिलाले फिल्ममा काम गर्नु राम्रो मानिँदैनथ्यो । यस्तै, उच्च घरानाका महिलाका लागि प्रतिबन्धहरु थप कडा थिए ।
एक दिन सबै फिल्मकर्मीले उनलाई फिल्मी दुनियाँमा धेरै नाम कमाउन सक्छिन् भनी बुझाए । वनमाला अन्ततः मानिन् । सन् १९३६ मा उनले मराठी फिल्म लपांडव साइन गरिन् ।
पर्दाको यात्रा, पिताको रोष र परिवारसँग दुरी
प्रिमियरमा उनलाई देख्ने बित्तिकै सोहराब मोदीले ‘रुखसाना’ बनाए
पहिलो फिल्म लपांडवको प्रिमियरमा हिन्दी सिनेमाका चर्चित फिल्मनिर्माता सोहराब मोदीको नजर उनीमाथि पर्यो । उनको सौन्दर्यबाट यति प्रभावित भए कि उनले उनलाई आफ्नो नायिका बनाउने निर्णय गरे।
वास्तवमा, त्यसबेला सोहराब आफ्नो फिल्म सिकन्दरका लागि नायिकाको खोजीमा थिए, जुन वनमालाको प्रिमियरमा समाप्त भयो । सिकन्दरबाट वनमाला हिन्दी सिनेमामा आइन् । यस ऐतिहासिक फिल्ममा रुखसाना बनेकी वनमालासँग पृथ्वीराज कपुरले एलेक्जेन्डर र सोहराब मोदीले पोरसको महत्वपूर्ण भूमिका निभाए ।
फिल्म रिलिज भयो र वनमाला रातारात देशभर स्टार बनिन् । पृथ्वीराज र सोहराबजस्ता दिग्गज कलाकार भए पनि दर्शकले वनमालाको सौन्दर्य र अभिनयको मात्रै कुरा गरिरहेका थिए ।
बेलायती क्यान्टोन्मेन्ट क्षेत्रमा लाग्यो पहिलो फिल्ममाथि प्रतिबन्ध
सन् १९४१ मा फिल्म सिकन्दर रिलिज हुनुअघि दोस्रो विश्वयुद्ध सुरु भइसकेको थियो । यस्तै, महात्मा गान्धी अंग्रेजहरू विरुद्ध ‘भारत छोडो’ आन्दोलनको तयारी गरिरहेका थिए । जसका कारण राजनीतिक तनावको अवस्था सिर्जना भएको छ ।
यो फिल्म देशभक्तिमा आधारित थियो, जसमा बेलायती शासनविरुद्ध धेरै दृश्यहरू थिए । सुरुमा बम्बई सेन्सर बोर्डले फिल्म पास गर्यो, त्यसपछि धेरै क्षेत्रमा प्रतिबन्ध लगाइयो। वर्षौंसम्म यो फिल्मको चर्चा भयो र स्वतन्त्रतापछिछ सन् १९६१ मा यसलाई पुनः रिलिज गरियो ।
पहिलो फिल्म हेरेपछि बुबाले पर्दामा फायरिङ गरे
वनमालाका बुबा राई बहादुर बापुराव निकै कठोर थिए । ऊँचो घराना, जहाँका महिला त परको कुरा, पुरुष पनि कहिल्यै फिल्मको हिस्सा रहेनन् । जब सिकन्दर फिल्म रिलिज भयो त्यति नै बेला वनमालाका पिता ग्लालियरको रिगल सिनेमामा फिल्म हेर्न पुगे ।
छोरीलाई स्क्रिनमा देख्नेबित्तिकै उनले केही नसोची खल्तीमा राखेको पेस्तोल निकालेर स्क्रिनमा देखिएकी छोरीतर्फ इशारा गरेर हाने । पर्दा फुट्यो र सिनेमाघरमा भागदौड मच्चियो ।
सन् १९४१ मा नै वनमाला ‘चरणों की दासी’ फिल्ममा शालीन बुहारीको भूमिकामा देखिइन् । फिल्ममा उनलाई असाध्यै रुचाइयो, सिनेमाघर बाहिर उनको पोस्टर हेर्नका लागि मात्रै भएपछि उनका प्रशंसकको अत्यधिक भीड लाग्ने गर्दथ्यो ।
स्वतन्त्रता सेनानीहरूलाई घरमा आश्रय दिन्थिन्
सन् १९४२ सम्म भारत छोडो आन्दोलन सुरु भएको थियो । यस आन्दोलनको हिस्सा बनेका मानिसहरूलाई रोक्न अंग्रेजहरूले जेल हाल्ने गर्थे, कहिले सिधै गोली हान्थे । यो आन्दोलनमा अरुणा आसिफ अली, अच्युत पटवर्धन र आचार्य नरेन्द्र पनि सहभागी थिए । उनीहरुलाई पक्राउ गर्न बेलायती सरकारी प्रहरी निस्किएपछि वनमालाले उनलाई आफ्नो घरमा आश्रय दिएर केही दिनसम्म प्रहरीबाट लुकाएर राखिन् ।
फिल्ममा देखिँदा आफ्नो परिवारलाई भेट्न शहर जान पनि प्रतिबन्ध लाग्यो
वनमाला फिल्ममा सफल भएसँगै ग्वालियरमा उनको कडा विरोध भयो । उनका बुबा र शाही परिवारका धेरै सदस्यहरू यो विरोधमा संलग्न थिए । वनमालाले उनको परिवारलाई मनाउन उनीहरुलाई भेट्न चाहन्थिन् तर रिसाएका बुबाले उनलाई शहर प्रवेश गर्नबाटै रोके ।
परिवारका सदस्यहरूले उनीहरूसँग सबै सम्बन्ध तोडे र भेटघाट पूर्ण रूपमा बन्द गरे । रिस यतिसम्म थियो कि शाही परिवार र सरकारको तर्फबाट छोरी वनमालाको सबै फिल्म ग्वालियरमा प्रतिबन्धित भए । न कसैले फिल्म हेर्थे न नै परिवारतर्फ कसैले औँला उठाउँथ्यो ।
पिताको शर्त, फिल्मबाट टाढा र मोहभंग
ग्लालियरका राजाले भनेपछि पिताले कुरा मिलाए, तर राखे ठूलो शर्त
परिवारसँगको सबै सम्बन्ध टुटेपछि वनमालाले सहन सकिनन् । बुबा बापुराव कुरा मिलाउनका लागि तयार थिएनन् । जब यो कुरा शहरभरी फैलिन थाल्यो, बापुरावका नजिकका साथीहरू र ग्वालियर शाही परिवारले उनलाई सम्झाए । गुजरातको सचिन राज्यका राजा हैदर अली पनि वनमाला र उनका बुबाबीच मेलमिलापको पक्षमा थिए ।
कसैगरी वनमालाले बुबालाई सम्पर्क गरिन् र घर फर्कने कुरा गरिन् । प्रसिद्ध व्यक्तिहरूको दबाबमा, बुबा राजी भए, तर ठूलो शर्त राखे । शर्त थियो, घर फर्कने चाहे फिल्म छोड्नुपर्छ र फिल्मी दुनियाँसँग जोडिएका हरेक व्यक्तिसँग सम्बन्ध तोड्नुपर्छ ।
परिवारबाट दबाब बढ्न थालेपछि वनमालाले अन्ततः झुक्नुपर्यो । उच्च, धेरै ठूला फिल्महरू र लाखौं फ्यानहरू छोडेर, वनमालाले बुबा र परिवार रोजिन् । र आफ्नो कामलाई छोडेर घर फर्किइन् ।
अन्तिम फिल्म नहेरिकनै छोडिन् मुम्बई शहर
सन् १९५३ को फिल्म श्यामची आई उनको अन्तिम मराठी फिल्म र अंगारे उनको अन्तिम हिन्दी फिल्म थियो । फिल्म अंगारे सन् १९५४ मा रिलिज भएको थियो तर रिलिज हुनुअघि नै वनमाला सपनाको सहर छोडेर परिवारका सदस्यहरूसँग ग्वालियर आउनुपरेको थियो । ग्वालियरमा उनको फिल्म प्रतिबन्ध भएका कारण वनमालाले आफ्नो अन्तिम फिल्म हेर्न पाइनन् ।
जब सन् १९५४ मा राष्ट्रिय फिल्म अवार्ड सुरु हुँदा वनमालाको फिल्म श्यामची आई लोटस गोल्डन अवार्ड जित्ने पहिलो फिल्म बन्यो ।
पहिलो राष्ट्रिय पुरस्कार जितेको श्यामची आई फिल्म २० औं शताब्दीको सबैभन्दा लोकप्रिय मराठी उपन्यास, श्यामची आईमा आधारित छ । यसका लेखक साने गुरुजी हुन् । वनमालाले यो उपन्यास पढेपछि उनको आँखाबाट आँसु आएको थियो । उनले तुरुन्तै यो उपन्यासमा फिल्म बनाउने निर्णय गरिन् र जतिसक्दो चाँडो यसको राइट्स किनिन् ।
घर फर्किएपछि सन्यासी बनेर काटिन् जीवन
वनमालाको वास्तविक नाम सुशिला देवी थियो जुन फिल्ममा आएपछि फेरिएको थियो । बुबाले घर ल्याएपछि वनमाला फेरि सुशीलाको रूपमा बस्न थालिन् । ग्वालियर आएपछि सुशीलाले फिल्म मात्र छोडिनन्, उनले जीवनको हरेक सुख, प्रत्येक मोह त्यागिन् र मथुरा–वृन्दावनमा एक साध्वी बनेर बस्न थालिन् । उनले विवाह पनि गरिनन् ।
वनमाला भारतीय संगीत र कलालाई अघि बढाउन चाहन्थिन् त्यसैले उनले वृन्दावनमा नै शास्त्रीय नृत्य र गायनको लागि हरिदास कला संस्थान नामको स्कूल खोलिन् । वनमाला आफ्नो बुढेसकालसम्म धेरै सामाजिक कार्यहरूमा पनि संलग्न थिइन् र छत्रपति शिवाजी राष्ट्रिय स्मारक समितिको सदस्य पनि थिइन् ।
वनमाला देवीलाई अझ नजिकबाट चिन्नका लागि एक भारतीय सञ्चार माध्यमले उनको स्वकीय सचिव पुष्पलता शर्मासँग सम्पर्क गरेको थियो । पुष्पलतालाई वनमालाले आफ्नी छोरी मान्थिन् । उनीसँगको कुराकानीको अंश यस्तो छ ।
विवाहको आश्वासन दिएर विवाहित निर्देशकले मन तोडिदिए
वनमाला जीले मलाई छोरी मान्नुहुन्थ्यो । उनी वृन्दावनमा साध्वीको रुपमा बस्न थालेकी थिइन् । केराको पातमा खाना खान्थिन् । आगोमा सेकेको रोटी खान्थिन् । सबैले सोच्थे कि ‘ओहो नायिका हुन् र उनीसँगै बसेर खाना खान्छु तर नजिक पुगेपछि ‘एक्लै खाँदा ठिक हुन्छ’ भन्थे । सबैको मद्दत गर्थिन् ।
सहयोगीले धोका दिएपछि जग्गा खोसियो
वनमाला जीकी एउटी सहयोगी थिइन्, जसलाई उनले धेरै सहयोग गरिन् । कुसुम सरोवरको छेउमा ५ एकड जमिन थियो । वनमालाले त्यहाँ म्युजिक एकेडेमी खोल्न चाहेकी थिइन् तर उनकी सहयोगीले ठगी गरेर यो जग्गा भूमाफियालाई दिएकी थिइन् ।
यसले उनलाई धेरै चोट पुर्यायो । वनमाला दीदीले ती सहयोगीको हातले बनाएको खाना खान छाडिदिइन् । उनी मकहाँ आएर रोटी मागेर खान्थिन् । मेरो भाइ वकिल थिए जसले उसलाई ती सहयोगीको वास्तविकताबारे जानकारी दिएका थिए । ती भू–माफियाहरुले मेरा भाइलाई अन्डरग्राउन्ड गरिदिए । ती मानिसहरुका कारण म पनि दिदीलाई खाना दिन डराउन थालेँ ।
वनमाला दीदी सहयोगीको छलबाट यति टुटेकी थिइन् कि उनी वृन्दावन आउनै छोडिन् । अन्तिम पटक भोपालका आईजी रहेका उनका भतिजा आनन्द पन्वारले उनलाई यहाँबाट ग्वालियर लगे ।
निर्देशकले धोका दिँदा सबै कुरासँग मन मर्यो
वनमाला दीदीले कहिल्यै परिवारको साथ पाइनन् । जीवनभर प्रेमको चाहना राखिन् । मायामा धोका पनि पाइन् तर उनले यो कुरा कसैलाई भनिनन् । मनमोहन नामका एक निर्देशक थिए जो पहिला नै विवाहित थिए ।
उनले वनमाला दीदीसँग बिहे गर्ने वाचा गरेका थिए तर दिदीले उनी विवाहित भइसकेको थाहा पाउने बित्तिकै उनी आफैँ टाढा भइन् । उनले यो भन्दा बढी कसैलाई केही भनिनन् र कसैलाई यसबारे थाहा पनि छैन ।
पिताको श्रापले कहिल्यै खुसी भइनन् वनमाला
वनमाला दिदीको पितासँग राम्रो सम्बन्ध थियो तर उनी फिल्ममा जाने बित्तिकै पिताले उनीसँग सबै सम्बन्ध तोडिदिए । राजघरानाको छोरी स्टेजमा कसरी नाच्न सक्छन् भन्ने उनको सोच थियो । पुरानो जमानाका मानिसहरुको यस्तै सोच हुन्थ्यो । दिदीले भन्नुहुन्थ्यो कि बुवाको श्रापले नै म कहिल्यै खुसी हुन सकिनँ ।
ग्लैमरस जीवन छोडेर अचानक साध्वी बन्नु उनको लागि कठिन निर्णय थियो । चकाचौँधले भरिएको संसार छोडेर सन्त जस्तै जीवन बिताउनुभयो । हल्का रंगको साडी र टिका । यो यति सुन्दर रङको हुन्थ्यो कि मैले त्यो रङको टिका कहिल्यै पनि कसैको निधारमा देखेको छैन । जमिन खोसिएपछि उनी कहिल्यै वृन्दावन फिर्ता भइनन् । उनले कहिल्यै परिवारको सहारा पनि पाइनन् । उनको सबै सम्पत्ति उनका घरका सदस्यले नै राखे ।
क्यान्सरले लियो ज्यान
क्यान्सरसँग लड्दै गर्दा २९ मे २००७ मा ९२ वर्षको उमेरमा वनमालाले ग्वालियरमा नै अन्तिम सास फेरिन् ।
Discussion about this post