दैनिक संजाल सम्बादाता – लहान: सिरहा जिल्लाको लहान नगरपालिकामा सरसफाइको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको छ। नगरपालिकाले सडक किनारमा राखेका डस्टबिनहरू आफैं बेसाहारा बनेका छन्। डस्टबिनहरू समयमै खाली नहुनु र नियमित सरसफाइ नहुनु आज लहान शहरको मुख्य पीडा बनेको छ।

लहान–१ नं. रोडको दृश्य नै यसको ठोस उदाहरण हो। सडक किनारमा थुप्रिएको फोहोरबाट फैलिएको दुर्गन्धले वरपरका व्यापारी, विद्यार्थी र सर्वसाधारणलाई दैनिक सास्ती दिइरहेको छ। त्यही बाटो हुँदै नगर प्रमुख, कर्मचारी तथा जनप्रतिनिधिहरू दिनहुँ आवतजावत गर्छन्। तर, सबैतिर फैलिएको दुर्गन्धले पनि उनीहरूलाई न त लाज लाग्छ, न त जिम्मेवारीको बोध हुन्छ।
स्थानीय युवा सुदिप राज कुशवाहाको भनाइमा—
“यो डस्टबिन नगरपालिका आफैंले राखेको हो। त्यसैले यो केवल जनतालाई दोष दिने कुरा होइन, बरु नगरपालिकाले आफ्नै बेवास्ता प्रमाणित गरेको हो। सरसफाइप्रति यस्तो उदासीनता नगरपालिकाको चरित्र आफैंले उजागर गरिरहेको छ।”
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार नागरिकको स्वास्थ्य र सरसफाईको न्युनतम मापदण्ड समेत पालना न गरे जटिल स्वास्थ्य समस्या महामारी फैलने सम्भावना हुन्छ | लहान नगरको बाक्लो जनघनत्व भएको शहरी क्षेत्रमा फोहोर व्यवस्थापन नहुनु, डस्टबिन समयमै खाली नगर्नु र सार्वजनिक स्थलमा दुर्गन्ध फैलिनु स्वास्थ्यका लागि अत्यन्तै घातक हुन्छ।

- फोहोरको थुप्रोमा किरा–माकुरा, रोगि जीव जन्तु, किटाणु जम्मा हुने हुँदा संक्रामक रोग फैलने सम्भावना हुन्छ।
- दूषित हावा र दुर्गन्धले दम, एलर्जी, आन्द्रा र छालासम्बन्धी रोग बढाउने खतरा हुन्छ।
- बालबालिका, वृद्ध र गर्भवती महिलाहरू यस्तो वातावरणमा सबैभन्दा बढी जोखिममा पर्छन्।
तर, लहानमा भने यी सबै चेतावनीलाई नजरअन्दाज गरिएको छ। नगरपालिकाले “स्वच्छ, सुन्दर र व्यवस्थित लहान” का ठूला-ठूला नारा तयार गरेका छन्, तर व्यवहारमा नागरिकलाई संक्रमण र दुर्गन्धमात्र बाँडिरहेको छ।
सरसफाइको मूल जिम्मा लिएको निकाय नै बेवास्ता गर्न थालेपछि लहान नगरको छवि पनि मलिन बन्दै गएको छ। सीमावर्ती व्यापारिक केन्द्रको रुपमा चिनिने लहान अहिले आगन्तुकलाई स्वागत गर्ने ठाउँ नभई, दुर्गन्धले हतोत्साहित गर्ने ठाउँ बनेको छ।
यस अवस्थामा प्रश्न उठ्छ—
नागरिकले तिरेको कर कहाँ खर्च भइरहेको छ? सरसफाइका लागि तोकिएका बजेट र कर्मचारी कहाँ हराइरहेका छन्?

नागरिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयलाई बेवास्ता गर्नु नगरपालिकाको चरम असफलता हो। WHO ले बारम्बार सार्वजनिक सरसफाइलाई आधारभूत मानव अधिकारको रुपमा परिभाषित गरेको छ। तर, लहानमा भने यो अधिकार नागरिकले पाउन सकिरहेका छैनन्।
नगरपालिकाले अब प्रचार र गफभन्दा बढी व्यवहारमा जिम्मेवारी देखाउन जरुरी छ। नत्र भने, सडक पेटी बाटो घाटोहरुमा थुप्रिएको यो दुर्गन्ध केवल लहानमै होइन, सम्पूर्ण नगरपालिकाको असफलताको प्रतीक बन्नेछ।
लहानका नागरिक भन्छन् : “अब हामीलाई गफ होइन, सफा सहर चाहिन्छ।”







Discussion about this post