वसन्त ढुंगाना
चितवन । आगामी फगुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दल र उम्मेदवारहरूले छुट्टै बैंक खाता खोल्नुपर्ने कानुनी व्यवस्था छ। यद्यपी चितवनका अधिकांश उम्मेदवार तथा राजनीतिक दहरूले बैंक खाता खोलेका छैनन्। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार शुक्रबारसम्म १३ जनाले मात्र बैंक खाता खोल्नका लागि सिफारिस लगेका छन्।‘निर्वाचनलाई पारदर्शी बनाउन बैंक खाता मार्फत खर्च गर्नुपर्ने व्यवस्था छ। निर्वाचन प्रयोजनका लागि उम्मेदवारले आफैँ खाता खोल्नुपर्छ,’ निर्वाचन आचार संहिता अनुगमन अधिकृत तथा कोष लेखा नियन्त्रक प्रमुख भिमार्जुन ज्ञवालीले भने, ‘यस विषयमा उम्मेदवारहरूले चासो दिएको जस्तो देखिँदैन।’
चितवनका तीन वटा निर्वाचन क्षेत्रमा ६५ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता मार्फत आफैँ खर्च गर्न पनि सक्छन् र अन्य व्यक्तिलाई पनि अधिकार दिन सक्छन्। उम्मेदवारलाई बैंक खाता खोल्नका लागि पत्रचार समेत गरिएको ज्ञवालीले जानकारी दिए। उम्मेदवारले खर्चको स्रोत खुलाउनुपर्दछ। चुनावी प्रचारप्रसारको क्रममा बनाइने मञ्च निर्माण गर्दा लाग्ने खर्चसमेत १५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ।
निर्वाचन आयोगको सिफारिसमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवं स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन जारी गरिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई यससम्बन्धी खाता खोल्न भनिएको छ।
यी खाताहरू नेपाली मुद्रामा मात्र सञ्चालन हुने गरी एउटा (एक मात्र)खाता खोल्न पाइनेछ। यस्तो खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ।
निर्वाचन प्रयोजनका लागि गरिने खर्च सबै बैंक खाता मार्फत गर्नुपर्ने हुन्छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ र ३का उम्मेदवारले ३१ लाख रुपैयाँ खर्च गर्न पाउँछन् भने क्षेत्र नम्बर २का उम्मेदवारले २९ लाख रुपैयाँ खर्च गर्न पाउँछन्। चितवनमा उम्मेदवारहरू घरदैलो अभियानमा छन्। उनीहरूले चुनावी प्रचारप्रसारमा खर्च गरिरहेका छन्। यद्यपी छुट्टै बैंक खाता मार्फत खर्च गरिरहेको देखिँदैन।
चितवनमा निर्वाचन आचारसंहिता पालना गराउनका लागि विभिन्न निकाय गठन गरेर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिए। निर्वाचन सम्पन्न गर्न ३२ सय कर्मचारी परिचालन हुने उनले बताए। त्यसमध्ये २९ सय राष्ट्रसेवक कर्मचारी र २५० शिक्षक रहेका छन्।
जिल्लामा ४९४ वटा मतदान केन्द्र छन्। त्यहाँको सुरक्षाका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार अहिले मतदान केन्द्र, उम्मेदवार र मतदाताको सुरक्षाका लागि सुरक्षाकर्मी खटिएका छन्। ‘हामीले विमानस्थाल र कारागारमा नेपाली सेनालाई खटाइसेका छौँ। २७ सय ६६ निर्वाचन प्रहरीले तालिम लिरहेका छन्,’ पुरीले भने, ‘निर्वाचनको दिन बुथको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्छ। बाहिरी घेरमा सेना र ससस्त्र प्रहरी खटिन्छन्।’
चितवनमा २५ वटा मतदान केन्द्र अति संवेदनशिल, ९३ वटा सम्बेदनशील र बाँकी सामान्य रहेको सुरक्षा समितिले आंकलन गरेको छ।









Discussion about this post