नेपालमा ३ हजार उचाइमाथि करिब १५५० हिमताल छन्। धेरै संख्यामा रहेका मोराइन ड्याम ताल कमजोर हुन सक्छन्।
अन्नपूर्ण हिमशृंखलामा पर्ने अन्नपूर्ण तेस्रो (७ हजार ५ सय ५५ मिटर उचाइ) र गंगापूर्ण (७ हजार ४ सय ५५ मिटर उचाइ) हिमालका उत्तरी फेद हुँदै मर्स्याङ्दी नदी बग्छ। त्यही मर्स्याङ्दी नदीको वारी किनारमा पर्छ, गंगापूर्ण ताल (३ हजार ८ सय २० मिटर उचाइ)। माथिल्लो मनाङ घुम्न जानेका लागि यो ताल एउटा आकर्षक केन्द्र हो। उच्च हिमाली दृश्यको प्रत्यक्ष अवलोकन गर्न, तालमा देखिने गंगापूर्ण तथा अन्नपूर्ण तेस्रो हिमालको छायाँ, तालको दायाँबायाँको भू–बनोट एकदम रोमाञ्चक देखिन्छ। तिलिचो, थोराङपासको पदयात्रामा जानेहरूका लागि लेक लाग्नबाट जोगिन मनाङमा बास बस्छन्।
२०७६ कात्तिक अन्तिम साता अध्ययन अनुसन्धानको सिलसिलामा मलगायत त्रिवि वातावरण विज्ञान केन्द्रीय विभागका प्राध्यापकहरू मनाङ गएका थियौं। बृहत् आकारमा फैलिएको उक्त ताल मनमोहक देखिन्थ्यो तर हाल आएर उक्त ताल सुकेर बगरमा परिणत भएको पाइयो। मनाङ जिल्लाको गंगापूर्ण हिमताल सुकेको धेरैले जलवायु परिवर्तनले गर्दा भएको हो भन्दै धारणा बनाइरहेका छन्। हिमालमा हिमताल बनिने, सुक्ने प्रक्रिया नियमित हुन्। तर, ताल बनिने र सुक्ने नियमित प्रक्रिया भएपछि केही दशकयता भने यस्ता गतिविधि छिटोछिटो हुन थालेका छन्। २०७८ सालको कात्तिकसम्म बृहत् आकारमा रहेको उक्त ताल सुकेर खोल्साको रूपमा बगिरहेको देखिन्छ। स्याटेलाइट तस्बिरलाई आधार मान्दा २०७८ को सुरुमा उक्त तालको क्षेत्रफल ५.६४ हेक्टर देखिन्छ। अहिले बगरमा परिणत भएको जस्तै देखिन्छ।
अन्नपूर्ण तेस्रो र गंगापूर्ण हिमनदीबाट बरफ र हिउँ पग्लिएर यो ताल बनेको हो। भू–गर्भविद् टोनी हेगनद्वारा सन् १९५७ मा खिचिएको तस्बिरको अवलोकन गर्दा गंगापूर्ण हिमनदीको फैलावट (लम्बाइ) मर्स्याङ्दी नदीको छेउसम्म (३ हजार ७ सय मिटर) रहेको देखिन्छ। त्यस समय उक्त हिमनदीको सतह र फेदीमा पानीको साना पोखरीहरू थिए। समय क्रममा उक्त हिमनदीका बरफहरू पग्लिएर गंगापूर्ण हिमताल बनेको देखिन्छ। हाल आएर हिमनदीको लम्बाई घटेर करिब ४५०० मिटर माथि पुगेको छ। सन् १९६० को दशकमा यो हिमतालको जलाधार क्षेत्रमा २३.० वर्गकिलोमिटर क्षेत्रफल हिमनदीद्वारा ढाकिएको देखिन्छ। तर, त्यो घटेर २०२१ मा २१.३ वर्गकिलोमिटर भएको छ। यसरी हेर्दा यो हिमनदी ८ प्रतिशत क्षेत्रफल घटेको देखिन्छ। यो विगत ६० वर्षको अन्तरालमा भएको हो। तर, यो दर अन्य क्षेत्रभन्दा कम हो। जस्तो कि सगरमाथा क्षेत्रमा १९६२ देखि २०११ सम्म हिमनदीको क्षेत्रफल १३ प्रतिशतले घटेको देखिन्छ। नेपालमा विगत ७ दशकमा औसत १५ प्रतिशतले घटेको पाइएको छ।
तालको दायाँबायाँमा रहेका साना पहाडजस्ता देखिने भू–बनावट हिमनदीका मोराइन (हिमनदीले बगाएर ल्याएकोे चट्टान तथा गेग्रेनको थुप्रो) हुन्। यी मोराइनहरू ज्यादै नै कमजोर अवस्थाका हुन्छन्। पानी पर्नेबित्तिकै सजिलैसँग बग्छन्। भारी वर्षाका कारण सेडिमेन्टेसन हुँदा ताललगायत त्यस क्षेत्रमा क्षति भएको देखिन्छ। उक्त वर्षाका कारण त्यहाँका लघुजलविद्युत्, पुल, घरधुरीहरूमा क्षति भएको पाइएको थियो। त्यही बेला ताल नजिककै भूक्षय जाने डाँडाका माटा तथा ढुंगाहरू तालको नजिक आएर थुप्रिएको पाइएको छ।
उच्च सेडिमेन्टेन्सनको कारण तालको सतह उच्च हुन गई तालबाट बाहिर जाने पानीको बहाब तीव्र हुँदा तालमा पानी जम्मा नभएको देखिन्छ। यस्तो हुँदा तालमा प्रवेश गर्ने पानीको बहाबको आयतन तालबाट निस्कने पानीको आयातनभन्दा कम हुन्छ। जसका कारण तालमा पानी जम्मा हुन पाउँदैन। सामान्यतः हिमनदीबाट पग्लिएर आउने पानीे जम्मा भएर बस्न सक्ने उपयुक्त भौगर्भिक बनावटमा ताल बनिन्छ। यस्ता, बनावट प्रायः पानीको लागि अभेद्यय जमिन (इम–पर्मिएबल ल्यान्ड) सतह तथा पानी भण्डारण हुन सक्ने खाडलहरू हुन्छन्।
ताल बनिनुअघि खाडलमा पानी जम्मा हुन्छ। खाल्डोमा पानी जमेपछि बाहिर जाने र भित्रने पानीको बहावबीच सन्तुलन हुन्छ। तर, जब तालमा पानीको भण्डारण गर्ने ठाउँको अवस्था बनिँदैन तब पानी सुक्छ। तसर्थ, यसलाई जलवायु परिवर्तनसँग प्रत्यक्ष जोड्नुभन्दा तालको जलाधार क्षेत्रको भू–गर्भ (प्रकृति) र धरातलका कारण ताल मासिन गएको कारण मान्न सकिन्छ। गत वर्ष मनाङमा असाधारण वर्षा भयो। भनौं, औसतभन्दा बढी वर्षा। गंगापूर्ण हिमताल नजिकैको मौसम मापन केन्द्र (मनाङ भोट) को तथ्यांक हेर्दा सन् १९७५ देखि २०२० सम्म औसत वार्षिक वर्षा ३८८ मिलिमिटर रहेका देखिन्छ। तर, अधिकतम् वर्षाचाहिँ ६५० मिलिमिटरसम्म रहेको देखिन्छ। गतवर्ष यो क्षेत्रमा अधिकतम वर्षा भएको देखिन्छ। हुम्दे मौसम मापन केन्द्रका अनुसार गत वर्षको जेठ ३१ मा २९.६ मिलिमिटर, असार १ गते ८२.२ र असार २ गते ५०.२ मिलिमिटर वर्षा भएको देखिन्छ। सामान्यतः त्यस क्षेत्रमा सरदर वर्षा ४५ मिलिमिटर हुनुपथ्र्यो। तर, औसतभन्दा अत्याधिक नै भयो।
कसरी बन्छन् हिमताल ?
उच्च हिमाली क्षेत्रमा चिसो तापक्रमका कारण उक्त क्षेत्र हिउँ तथा बरफयुक्त हुन्छ। हिउँ तथा बरफ पग्लिएर बनिएको पानी उपयुक्त जमिन सतहमा जम्मा हुन गई पानीका साना पोखरी बनिने गर्छन्। कालान्तरमा ती पोखरीहरू बढ्दै ठूला आकार लिन्छन्। सामान्यतः बाहिरबाट सर्सर्ती हिमालमा हेर्दा तीन किसिमका तालहरू देखिन्छन्। हिमनदीको सतहमा हुने सुप्रा हिमताल, हिमनदीको छेउछाउमा मोराइन ड्याम बनिने प्रो ग्लेसियर हिमताल। प्रो ग्लोसियर ताल बन्नुअघि स–साना पोखरीहरू हिमनदीको छेउछाउमा पाइन्छन्। जुन कालान्तरमा गएर जोडिन्छन् र प्रो ग्लोसियरको रूपमा विकासित हुन्छन्।
अनकनेन्टेट हिमतालहरू हुन्छन्। यी ताल हिमनदीबाट टाढा हुन्छन्। जसले हिमनदीबाट पग्लिने आइस र बरफका पानी जम्मा गर्छन्। नेपालमा रहेका प्रो ग्लोसियर तालहरू अत्याधिक रूपमा बढेर जोखिमयुक्त हिमतालको रूपमा विकासित भएका छन्। जस्तै, इम्जा, च्छो रोल्पा, ठूलागी, लुम्दिङ, तल्लो वरुण, पश्चिम चामलाङ आदि विगत ५ दशकमा विकासित भएका जोखिमयुक्त तालहरू हुन्। सन् २०१९ मा प्रकाशित एक अध्ययनका अनुसार नेपालको औसत तापक्रम ०.०३४ डिग्री सेल्सियस प्रतिवर्षले बढिरहेको देखाएको छ। तल्लो तटीय क्षेत्रमा भन्दा हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर बढेको देख्न सकिन्छ।
उच्च हिमाली क्षेत्रमा रहेका तालहरूलाई त्यस क्षेत्रमा भइरहेको भौगर्भिक तथा जलवायुजन्य गतिविधिको सूचकको रूपमा हेरिन्छ। नेपालका अन्य क्षेत्रमा पनि हिमतालहरू हराउँदै गएको देखिन्छ। त्यसको प्रमुख कारण वर्षाको परिणाममा आएको परिवर्तन हो। कहीँ उच्च वर्षा र धेरै मात्रामा सेडिमेन्टेसन बढी हुँदा त कुनै ठाउँमा कमजोर वर्षा र कमजोर जमिन भएको क्षेत्रमा रहेका तालहरू कुनै पनि समयमा सुक्न सक्छन्। कमजोर भौगर्भिक अवस्थामा रहेको पृथ्वीको तेस्रो धु्रव भनिने हिमालयलाई नयाँ पहाडको रूपमा पनि लिइन्छ। अझ मनाङ र मुस्ताङ जिल्लालाई हिमालय पर्वत शृंखलाको उत्तरी भागमा अवस्थित हुनु र वर्षाको कम पर्ने क्षेत्र भएकाले यो ‘रेन स्याडो’ भएको क्षेत्र हो। यो ठाउँमा विशेष गरेर हावा र पानीको सामान्य प्रभावले पनि भू–क्षय जाने गर्छन्। किनभने यहाँको भू–बनावट नै कमसल प्रकृतिको छ।
नेपालमा ३ हजार उचाइमाथि करिब १५ सय ५० वटा हिमताल छन्। तीनमा धेरैजसो मोराइन ड्याम तालहरू छन्। यी ड्याम भएका ताल कमजोर हुन सक्छन्। यी तालहरू पानीको घनत्वको कारण जुनसुकै बेला फुट्न सक्छन्। जलवायु धेरै कुरासँग जोडिएको हुन्छ। कहीँ प्रत्यक्ष त कहीँ अप्रत्यक्ष। त्यसैले कुनै अध्ययन र अनुसन्धानबिना जलवायु परिवर्तनकै कारण ताल सुक्यो भन्ने मुनासिव देखिँदैन।
हिमताल र जलवायु विज्ञ सहप्राध्यापक डा. ठकुरी मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकायका डीन हुन्।
Discussion about this post