एजेन्सी, असार १५ गते । आयरल्याण्डलाई दोस्रो टी–२० खेलमा ४ रनले पराजित गर्दै भारतले सिरिज २-० ले क्लीन स्वीप गरेको छ ।
दीपक हुडाको १०४ रन र सञ्जु सैमसनको ७७ रनको मद्दतमा भारतले ७ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो ।
जवाफमा आयरल्यान्डको टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो । खेलको अन्तिम ओभरमा आयरल्याण्डलाई १७ रन चाहिएको थियो । त्यसमा उमरान मलिकले १२ रन मात्र दिए ।
आयरल्यान्डले खेल हारेको भए पनि उसका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । यति ठूलो लक्ष्य भए पनि आयरल्याण्डको टोली खेलभर प्रतिस्पर्धामा रह्यो । कप्तान एन्डी बालबर्नीले ६०, ह्यारी टेक्टरले ३९ र जर्ज डकरेलले ३४ रन बनाए । भारतका लागि भुवनेश्वर कुमार, हर्षल पटेल, रवि बिश्नोई र उमरान मलिकले १–१ विकेट लिए ।
भारतले यो वर्षको तेस्रो टी–२० सिरिज जितेको छ । भारतले श्रीलंका र वेस्ट इन्डिजलाई हराएको थियो भने दक्षिण अफ्रिका विरुद्धको शृंखला २–२ को बराबरीमा पुगेको थियो ।
Discussion about this post