विराटनगर । प्रदेश १ मा आत्महत्याको अवस्था विकराल एवं भयावह बनेर गएको छ। आर्थिक वर्ष २०७८/०७९ मा मात्रै आत्महत्याका एक हजार चार सय ८९ वटा घटना भएका छन्। प्रहरीको तथ्यांकअनुसार झुण्डिएर, विष सेवन गरेर, हामफालेर, औजार एवं हतियार प्रहार गरेर र आगो लगाएर व्यक्तिले आत्महत्या गरेको पाइएको छ।
डोरीको प्रयोगमार्फत झुण्डिएर गरेको आत्महत्या ९० प्रतिशत छ। एक वर्षको अवधिमा डोरीको प्रयोग गरेर एक हजार तीन सय ३६ वटा आत्महत्याका घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।
उनका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापा र मोरङमा घटना भएका छन्। झापामा ३१४ र मोरङमा पनि ३१४ वटा आत्महत्याका घटना भएको राईले बताए। उनका अनुसार सबैभन्दा कम तेह्रथुममा २३ वटा घटना छन्। त्यसबाहेक सुनसरीमा २१२, इलाममा १२८, उदयपुरमा ९४, खोटाङमा ६७, पाँचथरमा ५७, ओखलढुंगामा ५४, भोजपुरमा ५१, धनकुटामा ४९, सोलुखुम्बुमा ४७, संखुवासभामा ४४ र ताप्लेजुङमा ३५ वटा आत्महत्याका घटना भएको राईले बताए।
उनका अनुसार अन्य अपराधको तुलनामा आत्महत्यासँग सम्बन्धित घटना धेरै छन्। एक वर्षको अवधिमा प्रदेशमा विभिन्न अपराधसँग सम्बन्धित आठ हजार ५५ वटा मुद्दा दर्ता भएका छन्। जसमा आत्महत्यासँग सम्बन्धित एक हजार चार सय ८९ वटा रहेको राईको भनाइ छ।
प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले पछिल्लो समय आत्महत्याको अवस्था विकराल बनेर गएको बताए। ‘आत्महत्या गरेर मान्छेले अमूल्य जीवन त्यत्तिकै खेर फालिरहेको छ,’ गिरीले भने, ‘यो भयावह अवस्थालाई न्यूनीकरण गर्न प्रदेश सरकारसँग समन्वय गरेर विशेष अभियान सञ्चालन गर्ने योजना छ।’
समुदाय–प्रहरी साझेदारी लगायत प्रहरीका अन्य काम कारबाही र गतिविधिलाई पनि अभियानसँग जोडेर आत्महत्याविरुद्ध जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए। मनोपरामर्शको माध्यमबाट आत्महत्याविरुद्ध जतिसक्दो चाँडो कार्यक्रम सुरु गरिने उनका भनाइ छ।
‘आत्महत्याको भयावह अवस्थाले सबैलाई झस्काएको छ। अति नै गम्भीर र चिन्तित बनाएको छ। सुन्दर जीवन मान्छेले अनाहाकमा खेल फ्यालिरहेका छन्,’ डीआईजी गिरीले भने, ‘यसमा सबैको चासो बढेको छ। मिहीन ढंगले अध्ययन गरी गहिराइसम्म पुगेर कारण पत्ता लगाउँदै नियन्त्रणको उपाय अवलम्बन गरिने छ। सुन्दर जीवन सदुपयोग गर्ने बाटोतर्फ मान्छेलाई डोहोर्याउनुपर्ने अवस्था आएको देखिन्छ।’
आत्महत्या रोक्न घरपरिवार र साथीभाइको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनी बताउँछन्। ‘मान्छे विभिन्न कारणले डिप्रेशनमा जान्छ,’ गिरीले भने, ‘आफूलाई सम्हाल्न नसक्दा जीवन सामाप्त गर्नुबाहेक अरु विकल्प देख्दैन।’ उनका अनुसार जीवनको सफलता र असफलता थाहै नभएका ९–१० वर्षका बच्चाले पनि आत्महत्या गरेको देखिन्छ।
‘आत्महत्या समस्याको समाधान हैन भनेर जीवनको महत्व सबैमा बुझाउन सक्नुपर्छ। कोही डिप्रेशनमा जाँदा घरपरिवार र साथीभाइको सहयोग चाहिन्छ,’ उनले भने, ‘व्यक्तिमा समस्या देखिए घरपरिवार र साथीभाइ मिलेर समाधान गर्नतर्फ लाग्नुपर्छ। मनोचिकित्सकबाट काउन्सिलिङ गराउनुपर्छ।’
जीवनबाट हार बेहोर्नु पर्दा सोच्नसक्ने क्षमता क्षीण हुँदै गएर फस्ट्रेसन र डिप्रेशनमा जाँदा मानिसले अकाल मृत्यु रोज्ने गरेको गिरीको भनाइ छ। उनका अनुसार असफलता, पारिवारिक सम्बन्धमा खटपट, गरिबी, बरोजगारी, पारिवारिक माया ममताको कमी महसुस लगायतले आत्महत्या बढाएको अनुसन्धानबाट खुलेको छ।
समाजशास्त्री डिल्ली प्रसाईं खस्कँदै गएको सामाजिक तथा पारिवारिक नियन्त्रण प्रणाली, कमजोर मूल्य मान्यता तथा दर्शन आत्महत्याको जड रहेको बताउँछन्। ‘आत्महत्याको अवस्था भयावह बनेर गएको छ। कारण विविध हुनसक्छन्,’ उनले भने, ‘घटना वा परिस्थिति सामान्य देखिन्छ। तर मान्छे आत्महत्यासम्म पुगिसकेको हुन्छ।’
आर्थिक, पारिवारिक, सामाजिक र मनोवैज्ञानिक विचलनसँग जुध्न नसक्दा मान्छेले स्वेच्छिक मृत्युका रूपमा आत्महत्याको बाटो रोज्ने क्रम बढ्नु दुर्भाग्यपूर्ण भएको प्रसाईंको भनाइ छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग, सूचनाको पहुँच विस्तार पनि कारक हुनसक्ने उनको ठम्याइ छ। सकारात्मक सोचको विकास गराएर प्रत्येक व्यक्तिको मनोवल दह्रो बनाउन सकियो भने नियन्त्रणमा मद्धत पुग्ने उनले बताए। भने, ‘सोच्न सक्ने क्षमताको विकास गराएर सबैको मनोवल दह्रो बनाउँदै जीवनको महत्व बुझाउनतर्फ ध्यान दिन जरुरी छ।’
कोसी अस्पताल विराटनगरका मनोचिकित्सक डा. प्रभात चालिसे आत्महत्या बढ्नुमा मनोसामाजिक समस्या, मदिरा तथा लागुऔषधको कुलत, पारिवारिक र सामाजिक वातावरण जिम्मेवार रहेको बताउँछन्।
मनोरोगको पहिचान र उपचारको कमीले मान्छे डिप्रेशनमा गएर यस्तो अवस्था आउने गरेको उनको भनाइ छ। बेलैमा समस्याको पहिचान र उपचार गर्न सकियो भने आत्महत्यालाई ९० प्रतिशतसम्म कम गर्न सकिने डा. चालिसेको भनाइ छ।
आफ्नै जीवन समाप्त गर्ने घटना कम गर्न व्यक्तिको समस्याको पहिचान, मनोपरामर्शकर्ताबाट काउन्सिलिङ, जनशक्ति र स्रोतको उचित व्यवस्थापन गरेर आत्महत्याविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन, मानिसलाई हेय एवं घृणाको दृष्टिकोणले हेर्ने परिपाटीको अन्त्य, सबैमा सकारात्मक सोचको विकास आवश्यक रहेको उनको सुझाव छ।
‘डिप्रेशन, कुलत र अन्य मनोसामाजिक समस्याका कारण आत्महत्या बढेको विश्वकै विभिन्न अध्ययनबाट पुष्टि हुन्छ,’ उनले भने, ‘मानिसबाटै सिर्जित यस्ता समस्याको अन्त्य र सकारात्मक सोचको विकासले आत्महत्या रोकथाममा मद्धत पुग्छ।’
मानिसको व्यवहारमा परिवर्तन ल्याएर स्वास्थ्य जीवन शैली अपनाउँदै सामाजिक जीवनलाई सुन्दर बनाउनतर्फ लाग्नुपर्ने उनको सुझाव छ। ‘खानपिनमा पनि ध्यान दिनुपर्छ। आफ्नो र परिवार तथा साथीभाइका लागि समय निकाल्नुपर्छ। सामाजिक जीवनलाई उत्कृष्ट बनाउनेतर्फ लाग्नुपर्छ,’ डा. चालिसे भन्छन्, ‘मान्छे आत्महत्यासम्म पुग्नु एउटा रोग हो। ठूलो समस्या हो। बेलैमा पहिचान गर्न सक्नुपर्छ।’
आत्महत्या गर्ने चरणमा पुगेको व्यक्तिले अरु बेलाको भन्दा फरक व्यवहार देखाउने र उसमा डिप्रेशनको लक्षण देखिने हुँदा बेलैमा उपचार एवं मनोपरामर्शमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
Discussion about this post