सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी–४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई प्रहरीले पक्राउ गरेको छ । विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए । डिएसपी खड्काले भने–‘विर्त सिंहको शरीर खानतलासी गर्दा ६ ग्राम ७६० मिलिग्राम हेरोइन बरामद गरिएको छ ।’ सुशान्त र सिर्जनालाई विर्त सिंहले खैरो हेरोइन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूमाथि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
Discussion about this post