सरकारले आयातमा लगाएको प्रतिबन्ध केही खुकुलो बनाएको छ । भदौ १३ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयात प्रतिबन्ध गरिएका केही वस्तु आयात गर्न पाउने गरी व्यवस्था गरेको हो ।
सरकारले कुरमुरे, कुरकुरे, लेज यस्तै उत्पादनहरु, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा र ३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजनमा लगाएको प्रतिवन्ध हटाएको छ । तर, सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ बाहेक), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोनहरु, जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शबबाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा भने प्रतिवन्ध कायमै राखेको छ ।
सरकारले गत असार ३१ गते राजपत्रमा सुचना प्रकाशित गरी साउन १ गते देखि कुरमुरे, कुरकुरे, लेज तथा यस्तै उत्पादनहरु, चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक) र ३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजनमा पनि प्रतिवन्ध लगाएको थियो । यी वस्तुमाथिको प्रतिवन्ध हटाए पनि सरकारले बाँकी वस्तुमाथिको प्रतिबन्ध कायमै राखेको छ ।
नेपालमा आउनेभन्दा बाहिरिने विदेशी मुद्रा बढी भएर शोधनान्तर घाटा अनियन्त्रित रुपमा बढ्दै गएपछि सरकारले ती वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । विलाशिताका र दैनिक आवश्यकता बाहेकका वस्तुको आयातमा लगाएको प्रतिवन्धले विदेशी मुद्राको संचिति केही बढेपछि सरकारले आयातमाथिको प्रतिवन्ध विस्तारै खुकुलो बनाउन लागेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी मुद्राको संचितिमा सुधार केही सुधार देखिएपछि सरकारले आयात माथिको प्रतिवन्ध विस्तारै खुकुलो बनाउँदै लगेको हो ।
यस्तै, आयातमा लगाएको प्रतिवन्धप्रति नेपालका विकास साझेदारले पनि प्रश्न गर्न थालेका थिए । नेपालले आयातमा लगाएको प्रतिवन्ध खोल्नुपर्ने शर्त राख्दै अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिने भनिएको एक्टेण्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तरगतको दोस्रो किस्ता रोकेको छ । दोस्रो किस्तामा आईएमएफले नेपाललाई ३९.२ मिलियन एसडीआर दिने भनेको थियो ।
Discussion about this post