एथेन्स — ग्रीसको लारिसा सहर नजिकै मंगलबार राति रेल ठोक्किएर दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । साथै ८५ जना घाइते भएका छन् ।
दुर्घटनास्थलमा अहिलेसम्म उद्धारको कार्य भइरहेकाले मृतकको संख्या बढ्नसक्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनास्थलबाट एक सय ९४ यात्रुलाई सुरक्षित रूपमा उद्धार गरिएको पनि बताइएको छ ।
दुर्घटनापछि प्रधानमन्त्री किरियाकोस मित्सोताकीसले देशव्यापी तीन दिन शोक बिदा घोषणा गरेका छन् । यस्तै ग्रीक राष्ट्रपति क्याटरिना साकेलारोपौलुले दुर्घटनापछि मोल्दोभोको भ्रमण छोट्याउँदै स्वदेश फिर्ता हुँदैछिन् ।
दुर्घटनाको कारणबारे यकिन आइनसके पनि यात्रुवाहक रेल तीव्र गतिमा रहेको स्थानीयहरूले बताएका छन् । यात्रुवाहक रेल तीव्र गतिमा रहेकाले विपरीत दिशाबाट आउँदै गरेको अर्को रेल चालकले नदेखेको हुनसक्ने स्थानीय अधिकारीले बताएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको बताइएको छ ।
Discussion about this post