काठमाडौं । झन्डै एक दशकअघि मध्यपूर्व एसियामा भएको द्वन्द्वमा सूचना प्रवाहका लागि सामाजिक सञ्जाल शक्तिशाली माध्यम बन्याे । वास्तविक समयमा जसरी परम्परागत मिडियाबाट सूचनाको प्रवाह भइरहेको थियो, त्योभन्दा कैयौं गुणा छिटो सामाजिक सञ्जालबाट हुन्छ भन्ने अनुभूति त्याे बेला भएको थियो । त्यसैले पनि विश्वको जुनसुकै भू-भागमा रहेका मानिसहरूले उक्त द्वन्द्वका बारेमा वास्तविक समयमै सूचना पाएका थिए ।
‘अरब स्प्रिङ’ (२०१०-२०१२) भनेर चिनिने उक्त विद्रोहको समयमा फेसबुक र ट्वीटर प्रयोग गर्ने तरिकाले सबैलाई आशावादी बनाएको थियो । त्यसमा पनि यी प्लेटफर्मले सूचना आदानप्रदान गर्न, समुदायलाई व्यवस्थित गर्न र प्रजातन्त्रको आभास गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस समयमा वास्तविक घटनालाई मोड्न यी प्लेटफर्मको दुरुपयोग हुने सम्भावना उच्च थियो । तर पनि सामाजिक सञ्जाल कम्पनीहरू आफ्नो लक्षप्रति स्पष्ट थिए ।
समय अगाडि बढ्दै जाँदा तिनै सामाजिक सञ्चालका प्लेटफर्म आफ्नो लक्ष विपरीत मोडिन थालेका छन् । अहिले मध्यपूर्व क्षेत्रमा भएको अर्काे (इजरायल-प्यालेस्टाइन) युद्धले सामाजिक सञ्जालका प्लेटफर्म आफ्नो उद्देश्यभन्दा फरक दिशातर्फ लागेका छन् भन्ने कुरा छर्लङ्ग पारेको छ ।
प्यालेस्टाइन लडाकु समूह हमासले शनिवार बिहान इजरायलमा आक्रमण गर्यो । उक्त आक्रमणपछि मानिसहरू सही र सटीक सूचना पाउन ट्वीटर (एक्स) प्रयोग गर्न थाले । तर, सो प्लेटफर्ममा छ्याप्छ्याप्ति आइरहेका भ्रामक र गलत सूचनाले उल्टै मानिसहरू बढी त्रसित र विचलित हुन थाले ।
एक्स मालिक एलन मस्कले प्लेटफर्ममा ‘कन्टेन्ट मोडेरेसन पाेलिसी’ खुकुलो बनाउँदा भ्रामक सूचनाको बाढी आएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ब्लु टिक लिएका सयैं अकाउन्टबाट विभिन्न स्वार्थसहित पुराना फोटो तथा भिडिओ शेयर भइरहेको ब्लुमबर्गले उल्लेख गरेको छ । त्यसमा पनि कतिपय फुटेजहरू भिडिओ गेमबाट लिइएको र त्यसलाई नै इजरायल-प्यालेस्टाइन द्वन्द्वको दृश्यका रूपमा प्रस्तुत गर्ने कार्य भइरहेको छ ।
त्यसबाहेक पनि एलन मस्कको नेतृत्वमा गइसकेपछि एक्स (ट्वीटर) शुल्क नतिरेर उक्त प्लेटफर्म प्रयोग गर्ने प्रयोगकर्ताले फिडमा आवश्यक सूचना देख्नै छोडे । किनभने कम्पनीले शुल्क तिरेर एक्स प्रयोग गर्ने प्रयोगकर्ताको फिडमा प्राथमिकताका साथ बढी सूचना उपलब्ध गराउँछ । त्यस्तै पछिल्लो अपडेटमा एक्सले शेयर भएका लिङ्कको शीर्षक र डिस्क्रिप्सन नै हटाइदिएको छ ।
यसले गर्दा फोटो हेरेर उक्त लेख के बारे लेखिएको हो भन्ने अनुमान गर्नुपर्ने हुन्छ । मिडियाले भने क्याप्सनमा समाचारको शीर्षक राखेर प्रयोगकर्तालाई सहज बनाइरहेका छन् । तर, उक्त फिचरको दुरुपयोग गर्नेहरू पनि बढेका छन् । यसको फाइदा उठाउँदै केही प्रयोगकर्ताले फिचर फोटो द्वन्द्वग्रस्त क्षेत्रको राख्ने, तर आर्टिकल फरक वा त्यसलाई तोडमोड गरेर राख्न थालेको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ ।
यता सामाजिक सञ्जालको अर्को कम्पनी मेटाले आफ्ना प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा वर्तमान घटनाहरूको प्रमुखतालाई जानाजानी सीमित गरिरहेको ब्लुमबर्गको आरोप छ ।
समाचारको प्रमुख स्रोत हुनुले २०१६ को अमेरिकी राष्ट्रपति चुनावपछि मेटाको प्रतिष्ठामा आँच आएको थियो । कम्पनीले निर्वाचन प्रभावित पार्न प्रयोगकर्ताको डेटा बिक्री गरेको आरोप समेत लागेको थियो । र, त्यसपछि फेसबुक समाजमा कुनै पनि भूमिका निभाउन असफल भएको देखिन्छ । कम्पनीले केही देशमा समाचारका स्रोतहरू पनि हटाएको छ । विशेषगरी मिडिया आउटलेटहरूसँग आम्दानी साझेदारी गर्न आवश्यक पर्ने नियमहरूको प्रतिक्रियामा कम्पनीले यस्तो गरेको बताइएको छ ।
कम्पनीले ल्याएको यस्तो नीतिले गर्दा संसारमा के भइरहेको छ भन्ने विषयको सूचना सामाजिक सञ्जालबाट लिने प्रयोगकर्तालाई समस्या निम्तिएको छ । “यो अलि असहज छ,” फेसबुकमा इलेक्सन पोलिसी एक्जुकेटिभ भएर काम गरिसकेकी केटिई कर्बाथले ब्लुमबर्गसँग कुरा गर्दै भनिन्, “मानिसहरूलाई पहिले कस्ता सूचना पाउन फेसबुक प्रयोग गर्ने र कस्ता सूचना पाउन ट्वीटर प्रयोग गर्ने भन्ने थाहा थियो । तर, दुवै कम्पनीले ल्याएका विभिन्न नीतिका कारण अब मानिसहरूलाई सूचनाका लागि कुन प्लेटफर्ममा भर पर्ने भन्ने थाहा छैन ।”
राजनीति सञ्चारसम्बन्धी विज्ञ एवं युनिभर्सिटी अफ नर्थ क्यारोलिनका प्राध्यापक डेनियल क्रेइसका अनुसार सामाजिक सञ्जाल फेसबुक र ट्वीटर तत्कालै सटीक समाचार प्राप्त गर्न सकिने उपयुक्त प्लेफर्म कहिल्यै भएनन् । “सामाजिक सञ्जालका नेतृत्वकर्ताले २०१६ को राष्ट्रपति निर्वाचनका समयमा ती प्लेटफर्मबाट किन गलत समाचार फैलिएका थिए भन्ने कुराको स्पष्टीकरण दिनु परेको थियो,” उनी भन्छन्, “कतिपय देशमा सामाजिक सञ्जाल हिंसाको कारण पनि बनेका छन् ।”
सन् २०१९ मा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले समाचार प्रकाशकसँग प्रतिस्पर्धा गर्न फेसबुक एपमा ‘न्युज’ सेक्सन ल्याएको घोषणा गरेका थिए । पछि सन् २०२१ मा सामाजिक सञ्जाललाई मानिसहरू समाचारका लागि भन्दा समाचारको लिङ्क राख्ने प्लेटफर्मका लागि प्रयोग गर्न थालेको फेसबुक, ट्वीटर कम्पनीलाई महसुस भयो ।
यता टिकटकसँग प्रतिस्पर्धा गर्न फेसबुक र इन्स्टाग्रामको ‘रिकमेन्डेसन इन्जिन’मार्फत मेटाले रमाइला भिडिओहरू देखाउन थाल्यो । प्रयोगकर्ताले फलो नगरेका अकाउन्ट वा फेसबुक पेजमा भएका सूचना पनि न्युज फिडमा देखिन थाल्यो । शुल्क तिरेर एक्सको प्रिमियम सेवा लिँदा जसरी अहिले फेसबुक र इन्स्टाग्राममा पोस्ट रिकमेन्ड हुन्छ, त्यसरी नै एक्समा पनि पोस्ट रिकमेन्ड हुन थालेको छ ।
सामाजिक सञ्जालका कम्पनीहरू विश्वव्यापी सूचना व्यवस्थापन गर्ने चुनौतीहरूको सामना गर्न पैसा बचत गर्न चाहन्छन् । कन्टेन्ट मोडेरेसनको सन्दर्भमा मानिसहरू राखेर पोस्ट जाँच गर्नुको सट्टा आर्टिफिसियल इन्टेलिजेन्समा निर्भर छन् । उदाहरणका लागि मेटाले महामारीको समयमा कन्टेन्ट जाँच गर्न र सिस्टम स्वचालित बनाउन त्यसमा काम गर्न कर्मचारी कटौती गरेको थियो । ब्लुमबर्गका अनुसार पाेलिसी र सेफ्टी इस्युमा कार्यरत कर्मचारीहरू कम्पनीले बर्खास्त गरेको थियो ।
मस्कले पनि कम्पनीको ट्रस्ट एन्ड सेफ्टी डिपार्टमेन्टमा काम गर्ने कर्मचारीलाई बर्खास्त गरेका थिए । तर, जबदेखि इजरायलमा युद्ध सुरु भयो, त्यसपछि कम्पनीले सुरक्षा र विश्वसनीयताको सन्दर्भमा गम्भीर भएको संकेत दिएको छ । ९ अक्टोबरमा एक्सकी सीईओ लिन्डा याक्कारिनोले वाल स्ट्रिट जर्नलको टेक लाइभ कन्फेरेन्समा उपस्थित नहुने निर्णय गरिन् ।
एक्सले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी सङ्कटका कारण लिन्डा र उनको टिम प्लेटफर्मको सेफ्टीमा केन्द्रित भएको जानकारी दियो । त्यसको एक दिनपछि कम्पनीले इजरायल र हमाससँग सम्बन्धित पाँच करोड पोस्टमाथि एक्सन लिएको भन्दै पोस्ट राख्यो ।
कम्पनीले संवेदनशील मिडिया फाइल हेर्न नचाहने प्रयोगकर्तालाई कन्टेन्ट सेटिङ परिवर्तन गर्न समेत सुझाव दिएको थियो ।
शुल्क तिरेर भेरिफिकेसन ब्याज लिन सकिने सुविधा ल्याएसँगै सामाजिक सञ्जालका प्लेटफर्मको विश्वसनीयता घटेको विज्ञहरूले बताएका छन् । त्यसैमा कन्टेन्ट मोडेरेसनमा ध्यान नदिँदा त्यस्ता प्लेटफर्मले प्रयोगकर्तालाई विचलित बनाइरहेको समेत उनीहरूको भनाइ छ ।
Discussion about this post