सिरहा, असार १३ –
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १० मा आइतवार राति करिब ०२:०० बजेको समयमा अज्ञात समूहद्वारा संगठित रूपमा गरिएको आगजनीमा शिशु ज्योति स्कुल बस, लवकुश बहुद्देश्यीय सहकारी संस्था लि. र पद्मोदय फाउन्डेसनलाई गम्भीर क्षति पुगेको छ।

स्थानीय स्रोतका अनुसार अज्ञात समूहले सहकारी भवनको ढोका फोरेर भित्र पसी कागजात, अभिलेख, लेखापाल दस्तावेजहरू र कार्यालय सामग्रीमा आगो लगाएका छन्। आगलागीका कारण सहकारीका महत्वपूर्ण कागजपत्र पूर्णरूपमा नष्ट भएको छ।
यसै भवनमा रहेको पद्मोदय फाउन्डेसन संस्थाले सञ्चालन गर्दै आएको विभिन्न कल्याणकारी, सामाजिक, स्वास्थ्य र शैक्षिक परियोजनाका महत्त्वपूर्ण कागजात, फाईल, रेकर्ड बुकहरूको दराज जलेर नष्ट भएका छन्।
संगै, धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतोले संचालन गरेको निजि शिशुज्योती स्कुलको बसमा पनि आगजनी गरेको छ । आंशिक रूपमा बसको सिसा फुटाइएको र इन्धन ट्याङ्की नजिक इन्जन्मा आगो लगाउने प्रयास भएको देखिएको छ, जसले ठूलो दुर्घटनाको संकेत दिएको छ।

समाजमा सुनियोजित राजनीतिक पुर्वाग्रहपूर्ण यस किसिमको घट्नाले सामाजिक सद्भाव असर पर्नुका साथै भय श्रीजना गर्ने गतिबिधि भएको स्थानीयहरुको भनाई रहेको छ |
घटनापछि आम-जनसमुदाय, स्थानीय बासिन्दा, शिक्षक, समाजसेवी र सहकारी सदस्यहरूमा आक्रोश र चिन्ता फैलिएको छ। सुरक्षाकर्मीहरू तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए भने अहिले अनुसन्धान अगाडि बढाइएको छ। घटनास्थलमा अनुसन्धानका लागि सिरहा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको छ।

विद्यालय संचालक, सहकारी तथा फाउन्डेसनका प्रतिनिधिहरूले दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन माग गर्दै आपराधिक गतिविधिको कडा निन्दा गरेका छन्।






Discussion about this post