लमजुङ,जेठ २५ गते । लमजुङ मर्स्याङ्दीका चन्द्रमणि गुरुङ काठमाण्डौ महाराजगञ्जको शिक्षण अस्पतालमा श्रीमतीको उपचार गर्न आएको ७ दिन भयो ।
पालो कुरेर बस्ने ठाउँ नजिकै शौचालय छ । शौचालयबाट निस्केको दुर्गन्धले आफैँ बिरामी भइन्छ कि जस्तो गराउँछ । तीन वर्ष पहिले त अलि राम्रो र सफा थियो । अहिले धेरै नै फोहर भएछ । विभिन्न विभागको भवनभित्र रहेका शौचालय सजिलै नदेखिने ठाउँमा भएकाले कम फोहर छन् । तर जुन ठाउँमा मानिसको भिड लाग्छ, त्यो ठाउँका शौचालय पसि सक्नु छैन ।
महाराजगञ्ज शिक्षण अस्पतालको शौचालय
शौचालयकै अगाडि बाल रोग विशेषज्ञ विभाग छ । हिँड्न र बिरामी ओहोरदोहोर गराउन शौचालय अगाडिकै बाटो प्रयोग गर्नु पर्छ । आफू पनि बाध्य भएर त्यही शौचालय प्रयोग गर्नु पर्छ । भित्र छिरेपछि त झन् बिजोग छ । ढोका राम्रो छैन, भित्र पसेको र बसेको बाहिरैबाट देखिन्छ । पिसाब बग्ने पाइप थुनिएको छ । भित्तामा खैनी, पान, गुट्का थुकेर दागै दाग छ । हात धुने ठाउँमा साबुन त परै जाओस्, पानी पनि छैन । शौचालय प्रयोग गर्नेहरु पनि उस्तै, दिसा पिसाब गरेपछि कसैले पानी हाल्दैनन् ।
अरुलाई सफासुग्घरमा ध्यान दिनुपर्छ भन्ने डाक्टर दिनमा सय चोटी शौचालय अगाडिकै बाटो हिँड्छन् । तर उनीहरु यति व्यस्त हुन्छन् कि शैचालयको अवस्था बुझ्ने उनीहरुलाई फुर्सद नै हुँदैन । सफा गर्नेहरुहरुले पनि त्यति ध्यान दिँदैनन् ।
‘यहाँ न अस्पताल आउनेले ध्यान दिन्छन्, न प्रशासनलाई कुनै वास्ता छ । अस्पतालको शौचालय राम्रो भए त सबै यहीँ उपचार गर्न आउँथे । अस्पताल, डाक्टर र अन्य कर्मचारीको शोभा बढ्थ्यो । अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाउँथ्यो । सरसफाइको कसैलाई कुनै मतलब छैन’ चन्द्रमणि गुरुङले दुखेसो पोख्नुभयो ।
सिन्धुपाल्चोक ठोकर्पाकी कृष्ण कुमारी भण्डारी पनि स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल आउनुभएको छ । उहाँ अस्पताल धाउन थालेको दुई दिन भयो । श्रीमान् पनि सँगै हुनुहुन्छ । यसै त अस्पतालको सेवा सुस्त छ, शौचालय गइसक्नु छैन । कुनै शौचालयमा त आधाभन्दा बढी त भित्तो नै छैन । हेर्दा अँध्यारो, बीचमा पाइप र अलि पछाडि पानी रसाइरहेको अर्को भित्तो ।
वीर अस्पतालको शौचालय
वीरका शौचालय बाल तथा अपाङ्ग मैत्री छैनन् । कुनै ठाउँमा त महिला पुरुषको शौचालय छुट्याइएको पनि छैन । भित्र पानी थाप्ने भाँडो नै छैन । भुइँभरी लेउ लागेको छ । सफा गर्नु पर्यो भन्दा कर्मचारीले उल्टै गाली गर्छन् । कृष्ण कुमारीलाई पनि सफा शौचालय चाहिने भए अरु अस्पताल गए भइहाल्यो नि भनेर एउटी महिला कर्मचारिले गाली गरिन् ।
‘सबैको साझा अस्पताल, सबैले एकैसरह कर तिरेर बनाएको आफ्नै अस्पताल सम्झेर उपचार गर्न आएकी हुँ । तर यहाँ आउँदा आफैँ हेपिनु पर्छ । अन्त कहाँ जानु म रु’ उहाँले भन्नुभयो ।
ललितपुरको पाटन अस्पतालभित्र रहेका शौचालयको अवस्था अलि सामान्य भए पनि मूलढोका नजिकै रहेको शौचालयको समस्या चाहिँ उस्तै छ । शौचालयभित्र एक जना युवाले चुरोटको सर्को तान्दै थिए । भुइँभरी पानी नै पानी जम्मा भएको छ । चिप्लेर लडिन्छ कि भन्ने डर लाग्छ । हात धुने बेसिन पनि तारले अड्याएर राखिएको छ ।
पाटन अस्पतालको शौचालय
‘चुरोटको टुक्रा र खैनीको कागज जताततै देखिन्छ । कसलाई गुनासो गरौँ रु बिरामी भेट्न आएको मान्छे यहाँ लडेर घाइते भएर आफैँ अस्पताल भर्ना हुनु परे के गर्ने रु पानी हो कि पिसाब हो कुन्नि रु खोला तरे जसरी हिँड्नु पर्छ । भारत जाँदा देखेको रेलको डिब्बा जस्तै फोहर रैुछ’ भन्नुभयो पाटन अस्पतालमा बिरामी भेट्न पुग्नुभएका अर्घाखाँची सन्धिखर्कका रमेश भुषालले भन्नुभयो ।
धेरै सरकारी अस्पतालका शौचालयको हालत पहिलेदेखि नै यस्तै छ । मानिसको भिडभाड हुने ठाउँका शौचालय अलि बढी फोहर छन् । शौचालय सफा बनाउन केही प्रयास पनि भएका छन् । तर सफल हुन सकेको छैन । अस्पतालमा काम परेर आउने भन्दा पनि बाहिरबाट आएर प्रयोग गर्नेहरु धेरै छन् । बाहिरबाट शौचालय प्रयोग गर्न आउनेलाई नियन्त्रण गर्न सके पनि आधा समस्या कम हुन्थ्यो । शौचालय प्रयोग गर्नेहरुले पनि फोहर गरेर त्यसै छाडिदिन्छन् । भित्र राखिएका सामान हराउने, भाँचिदिने र मनपरि ढङ्गले फालिदिने समस्या पनि उस्तै छ ।
बिरामीको उपचार हुने ठाउँ अस्पताल सफा र स्वच्छ हुनुपर्छ । बिरामीको जाँच गर्ने कोठादेखि शौचालयसम्म फोहर हुनु हुँदैन । तर धेरैजसो सरकारी अस्पतालका शौचालय फोहर र अव्यवस्थित छन् । अस्पताल सञ्चालकले पनि प्रभावकारी रुपमा सफाइ अभियान चलाउन सकेका छैनन् ।
अस्पतालले पनि पटकपटक सफा गर्ने र सम्भव भएसम्म प्रत्येक शौचालय अगाडि एकजना गार्ड राख्ने योजना बनाएको छ । ‘आफूहरुले सरसफाइमा ध्यान दिने र यसका लागि शौचालय प्रयोग गर्नेले पनि साथ दिनुपर्छ’ कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीरअस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर अनुपमा कार्कीले भन्नुभयो । ujyaaloonline
Discussion about this post