काठमाडौ । कोटेश्वरमा रहेको काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २४ वर्षपूरा गरेर २५ औं वर्षमा प्रवेश गरेको छ। कमलादीस्थित राष्ट्रिय प्रज्ञाप्रतिष्ठानमा एक भब्य समारोहकाबीच विद्यालयले २५ औं वार्षिकोत्सव मनाएको हो। २०५५ सालमा काठमाडौं डोन बस्को उमाविको नामले स्थापित यस विद्यालयले विभिन्न आरोह अवरोहकाबीच २५ औं वर्षमा प्रवेश गरेको हो।
प्रधानमन्त्री तथा मन्त्री परीषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको समारोहमा विभिन्न शिक्षा क्षेत्रका विशिष्ट ब्यक्तित्व, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् तथा अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको गीत, सङ्गीत, नृत्य, कविता तथा अन्य प्रस्तुती सहित विशेष उद्घाटन समारोह आयोजना भएको थियो।
समारोहमा विद्यालयमा अनवरत रूपमा लामो समयसम्म सेवा पुर्याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान समेत गरीएको थियो। यस्तै विद्यालयबाट यसै वर्ष कक्षा १० र कक्षा १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीहरूको सम्मान गरेको छ।
रजत महोत्सवको अवसरमा वर्षभरि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विविध कार्यक्रम आयोजना गरिने प्राचार्य रन्जित थापाले बताए। विद्यालयले पढाईसँगै सिप विकास गर्दै शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन लागीपरेको उनको दाबी छ।
‘२१ औँ शताब्दीको आवश्यकता अनुरूप सिप विकासमा केन्द्रित रहेर ज्ञान हासिल गर्न जोड दिँदै विद्यालयले अनुशासित नागरिक उत्पादन गर्दै विकासमा योगदान पुर्याएको छ, थापाले भने, ‘यस विद्यालयले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन कारखाना, रोवोटिक्स एसोसिएसन नेपाल, सम्भाव्य फाउण्डेसनलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरूसंग पनि सहकार्य गरेको छ।’
Discussion about this post