रामकुमार महतो धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजावदी पार्टी (जसपा) गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । यहाँ माओवादी केन्द्रबाट महतो र जसपाबाट उपमेयरमा मनुमाया मोक्तान छन् । मेयर पदका उम्मेदवार महतो नेकपा माओवादी केन्द्रको दश वर्षे जनयुद्धकालदेखि राजनीतिमा सक्रिय छन् । महतो स्वास्थ्यकर्मी (अहेब) हुन् । जनयुछकालमा पनि लागतार अढाइ वर्ष भूमिगत रहेर युद्धमा घाइते हुने तथा भूमीगत माओवादी नेता–कार्यकर्ताको उपचार गरेका थिए ।
ढल्केबरमा दुई दशकदेखि फार्मेसी सञ्चालन गर्दै आएका उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एकता केन्द्र मसाल जनमोर्चाबाट चुनाव लडेका थिए । दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । तर पार्टी भित्रकै केहि नेतृत्वकर्ताको अन्तरघातका कारण पराजित हुन पुगे उनी । चुनावमा भएको खर्चले घरको आर्थिक अवस्था दयनीय भएपछि पुनः उनी राजनीतिबाट टाढिएर स्वास्थ्यकर्मी पेशामै सक्रिय भए । महतोले समाजिक कार्यलाई भने निरन्तरता दिइरहे । पछिल्लो समय माओवादी केन्द्रको कार्यकर्ताको दवाव र शुभचिन्तक साथीभाइको सहानुभूतिको कारण पुनःराजनीतिमा सक्रिय भए । जनतामा घुलमिल भइरहने नम्र र सभ्य स्वभाव व्यवहारको कारण उनलाई अन्य पार्टीबाट थुप्रै सहानुभूति मत आउने आकलन सहित मओवादीबाट अगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर पदमा उनको एकल नाम सिफारिस भयो । अन्तः उनी उम्मेदवार पनि बन्न पुगे । महतोसँग द पब्लिक टुडेले गरेको कुराकानकीको संपादित अंश :
#तपाइको उम्मेदवारी किन ?
—दश वर्षे जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनपछि यो देशमा सिंहदरबारको अधिकार गाउँ–गाउँमा आयो । तर यसको साथसाथै विकृति र भ्रष्टाचार आयो । त्यसकारण विगतको चुनावमा पुरानै काँग्रेस एमालेका नेताहरु चुनाव जिते । पुरानै प्रवृति हावी भयो । त्यसकारण जनयुद्ध गरेका पार्टी माओवादी केन्द्र र मधेश विद्रोह गरेका पार्टी दुवै एक ठाउँमा भएर जसरी देशलाई नयाँ नेतृृत्व दिन सक्यौं मुख्य दुई क्रान्तिकारी शक्तिले मिथिला नगरपालिकामा जुन विकृति विसंगति छ, त्यसलाई अन्त्य गर्नको लागि, यो पालिकालाई मधेश प्रदेशकै नमूना बनाउन र यो पालिकाका तमाम समस्या हल गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ ।
#घरदैलो अभियानमा निकै व्यस्त देखिनुहुन्छ, जनताका लागि के छ योजना तपाईँको ?
—छोटोमा भनन्नुपर्दा यो मिथिला नगरपालिकामा ३०÷३५ वर्षदेखि गाविस हुँदा पनि र नगरपालिका हुँदा पनि जनताको अपेक्षा पुरा हुन सकेको छैन । यो नगरपालिकामा धेरै खहरे खोलाहरु छ । त्यो खोलाहरुको छेउछार हजारौं विघा ऐलानी जग्गा छ । हाम्रो पार्टीले विगतमा तुल्सीमा लाल बस्ती बसालेको छ । त्यस्तै बडहरीमा सुन्दरपुर बस्ती बसालेको छ । हामी जितिसकेपछि यो चुरेदेखि निस्केको खोलाहरुको छेउछाउको ऐलानी जग्गालाई व्यवस्थित गरेर गरिब सुुकम्बासी, भूमिहीनहरुलाई घरको व्यवस्था गर्छौंँ । उनीहरुलाई लालपूर्जा दिने र बाँकी जग्गामा वृक्षारोपन गर्ने अभियान चलाउँछौं । त्यस्तै यहाँ खानेपानीको जटिल समस्या छ । सबै जनतालाई पिउने शुद्ध पानीको व्यवस्था गर्छौं । त्यो पनि निःशुल्क व्यवस्था गर्ने हाम्रो योजना छ । गरिब, दलित, सुकुम्बासी बस्तीहरु छन । तिनीहरुलाई खान, लाउन, बस्न समस्या छ । म जितिसकेपछि स्थानीय सरकारको समस्याको पहिचान गरी आवश्यक्ता अनुसारको पहलकदमी लिन्छु । शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्छु । अन्य काम भनि जनताको भावना र सल्लाहसुझाव अनुसार गर्छु ।
#जनताले किन तपाइलाई नै मतदान गर्ने ? किन पत्याउने ?
—म यो मिथिलानगरपालिकाभित्र जनताको पक्षमा सामाजिक कार्यहरु गरेको छु । अहिलेसम्म म कुनै पनि गलत गतिविधिमा लागेको छैन । कुनै प्रकारको भ्रष्टाचार गरेको छैन । ढल्केबर सहिद पार्क निर्माण गरे, मुंगालाल मोहन स्मृति प्रतिष्ठानको काम गरे । जहाँ अहिले मिथिला नगरपालिकाको प्रशासनिक कार्यालय छ । त्यो कार्यालय त्यहाँ रहन मेरो भूमिका छ । यो लगायत थुप्रै समाजिक कार्यहरु गरेको छु ।
यस्तै कोरोना कालमा सरकारले लकडाउन हुँदा जनतामा त्राहिमाम थियो । खान लाउन जनतालाई समस्या थियो । धनीहरु पनि समस्यामा थिए । गरिबलाई त गास बासको ठूलै समस्या थियो ।
उपचारको लागि छटपटाइरहेको अवस्था थियो । त्यति बेला ठूलठूला हस्पिटलहरुमा डाक्टरले बिरामीलाई उपचार नगर्ने, उपचार अभावमा कयौं बिरामीले मृत्यु वरण गर्नुपर्यो । मैले ढल्केबरचोकमा आफ्नो निजी क्लिनिक चलाएको छु । यो पेशालाई समाजसेवाको रुपमा लिएको छु । त्यति बेला मैले ज्यान जोखिममा राखेर ४५ दिनमा ३२ सय जनाको उपचार गरे । पाँच सय जना बिरामीलाई मलाई आफै लाग्थ्यो की म उहाँहरुको उपचार गर्न सक्दिन । मैले भन्थे तपाईलाई ठूलो सुवधिासम्पन्न अस्पताल जानु पर्छ । यहाँ अक्सिजन आइसियु छैन । बिरामीहरुले भन्थे म हस्पिटल गए म बाँच्दिन, मर्छु । तपाईँले उपचार गरे बाँच्छु, मरे यहि मर्छु । तपाइले उपचार गर्नु भयो भने बाँच्छु भन्ने मलाई विश्वास छ । पाँच सय बढी मैले आफैले विश्वास नगरेको बिरामीलाई ठीक गरे । त्यो बेलाको एउटा दृश्य अन्तको जनतालाई विश्वास लाग्दैन । तर ढल्केबर वरिपरिको सम्पूर्ण जनतालाई थाहा छ । १८ घण्टादेखि २३ घण्टासम्म डिउटी गर्नुपर्ने अवस्था थियो ।
#सारा दुनिया घरमा लुकिरहेको बेला तपाईलाई डर लागेन ?
—डर त सबै मान्छेलाई हुन्छ । तर तत्कालिन नेकपा माओवादीको १० वर्षे जनयुद्ध कालमा कालमा म पनि अढाई वर्ष भूमिगत भएँ । भूमिगतकालमा मृत्युलाई जितिसकेपछि मलाई डर भन्ने कुरा हरायो । त्यो कुरा भूमिगत कालमा अनुभूति गरे र कोरोना कालमा जनताको सेवा गर्नु सबभन्दा ठूलो धर्म हो माने । जनताको सेवा गर्नु भगवानकै सेवा गर्नु सरह हो भनेर मैले ज्यानको परवाह नगरी मैले २३ घण्टासम्म उपचारमा खटे ।
त्यो आँट कहाँबाट आयो ?
—जब मान्छेको एउटा भिजन भइसकेपछि जस्तो सुकै काम गर्न तयार हुन्छ । जनयुद्ध कालको धेरै युद्ध मोर्चामा घाइते हुँदा मैले उपचार गरे । घाइते कमरेडहरुले के भन्नु हुन्थ्यो भने हाँस्दै हाँस्दै कमरेड म सहिद हुन्छु की ? भन्ने उहाँहरुको आँट जस्तो थियो । तर, उहाँहरु त सहादत हुनु भयो । मत एक बाँचेको पात्र हुँ । त्यस कारण नाफाको जिन्दगीलाई जनताको सेवा गर्न पाऊ । जनता नै भगवान हो । त्यही भएर कोरोनकालमा दिनरात बिरामीको चाप हुँदा खाना र पानी पनि नखाइ कतिपय अवस्थामा उपचार गरे । यो वरपरका धेरै बिरामीलाई बचाउन सफल भएँ ।
तपाई समाजको तमाम समस्यालाई कसरी हल गर्न सक्नुहुन्छ ?
—हो, म सक्छु । जसरी कोरोना कालमा उपचार गरेर सयौं बिरामीको ज्यान जोगाए । त्यसरी नै राजनीति भित्रको विकृतिलाई अन्त्य गर्न चाहन्छु । राजनीतिमा मलाई व्यक्तिगत कुनै पनि स्वार्थ छैन । म आफ्नो क्लिनिबाट पनि महिनाको तीनचारलाख रुपैयाँ कमाउँछु । म त्यसैमा रमाउँथे । तर म बच्चादेखि नै तमाम जनता, किसान, मजदुरले के भन्नु हन्थ्यो भने यहाँको विकास गर्न सक्दैन । आफ्नै व्यक्तिगत र परिवार स्वार्थको वरिपरि रहन्छन् । तर, मतपाईहरुलाई के विश्वास दिलाउन चाहन्छु भने राजनीतिमा आउनको मेरो मूल उद्देश्य जनतामा परिवर्तन गर्नु हो । जनताले जे अपेक्षा गर्छ म त्यो पुरा गर्न आएको हुँ । जनतामा राजनीतिप्रति जुन वितृष्णा छ त्यसलाई म अन्त्य गर्न आएको हुँ ।
#नेताको भाषण सुनेर जनता वाक्क छन् । तर न समाज बन्यो, न देश बन्यो किन ?
—ठीक भन्नु भो, राजनीतिलाई यहाँ विकृति बनाएको छ । पेशा बनाएको छ । मैले यो भनिरहँदा मलाई लाग्छ आज जनतालाई विश्वास लागिरहेको छैन । किनभने राजनीतिमा ९० प्रतिशत बेइमान भइदिएपछि इमान्दारको अब राजनीति गुञ्जायस छैन । अहिले पनि हामी यो नगरपालिका मै हेरौं । जुन नेकपा एमालेबाट सर्वसहमत उम्मेदवार जुन भयो । रातारात परिवर्तन भएर करोडौंको चलखेल नयाँ अनुहार आयो । त्यस्तै काँग्रेसमा पनि त्यहि स्थिति आएको छ । रातारात टिकट परिवर्तन भएको छ । करोडौको चलखेल भएको छ । त्यस कारण ठूलठूला पार्टीमा के देखियो भने जनतालाई उपयोग गरेर, चलखेल गरेर टिकट लियो, अब करोडौं खर्चेर जित्छ । फेरि भ्रष्टार गर्छन् । यो ठूलो चुनौती छ समाजको लागि । म त्यसको विरुद्धमा कम से कम खर्च गरेर जनताको मन जितेर विपक्षमा एउटा नयाँ ढंगले आएको छु । त्यसकारण आज सत्य र असत्यको लडाइ छ । सत्यकौ जीत हुन्छ भन्ने मलाई विश्वास छ ।
तपाइको जित्ने आधार के छ ?
—यो मिथिला नगरपालिकामा २९ हजार ४९५ मतदाता छन् । नेकपा एमाले विगतमा यहाँ जितेको थियो । पार्टी विभाजनछि उसको शक्ति घटेको छ । पार्टी भित्र टिकटको विवादले झनै गाह्रो छ । काँग्रेश सक्तिशाली पार्टी छ । तर जहिले पनि यहाँ अन्तरघातको डर छ । टिकट वितरणले पार्टी भित्र असन्तुष्टि छ । माओवादी पार्टी मिथिला नगरपालिकाको तेश्रो शक्ति हो । र जनता समाजवादी पार्टी चौथो शक्ति । तेश्रो माओवादी र चौथो जसपाको गठबन्धन छ । यसले हामी त्यसै पहिलो स्थानमा छौं । यो नगरपालिकाको २९ हजार ४९५ मध्ये म १४÷१५ हजार मतदातलाई व्यक्तिगत रुपमा म चिन्छु । प्रत्येम घरदैलोपुगेर, व्यक्तिलाई भेटेर आफ्नो भिजन सुनाएको छु । अन्य उम्मेदवार भन्दा म जनतामा बढी घुलमिल छु । अरुको चरित्र, स्वभाव, व्यवहार भन्दा स्वच्छ छु । जनताको भावना बुझ्छु । साथ दिन्छु । कोरोना कालमा ज्यान जोखिममा राखेर यहि वरपरका संयौ बिरामीको ज्यान बचाएको छु । यसै पनि स्वास्थ्यकर्मी पेसा भएकोले जनतासंगै बढी नजिक हुन्छ । त्यसकारण मेरो सहानुभूति गोप्य मत धेरै छ । मतदाताहरु मलाई भोट हाल्न उत्सुक हुनुहुन्छ । त्यसकारण म फराकिलो मत अन्तरले जितिरहेको छु ।
Discussion about this post